के क्यान्सर रोगको उपचार नेपालमै सम्भव छ ?: डा. सोनिया दुलालको लेख



क्यान्सर के हो ?
हाम्रो शरीरमा हुने कोषहरु नियमित रुपमा बढ्छन् । बढेपछि एक चरणमा गएर ती कोषहरुको मृत्यु हुन्छ र फेरि जन्म हुन्छ । यो क्रम चलि रहन्छ ।

कुनै कोष अनियन्त्रित रुपमा बढ्यो, निश्चित समयमा त्यसको मृत्यु भएन भनेर अनियन्त्रित रुपमा बढेको बढ्यै भयो भने त्यो विस्तारै रगतमा पुग्छ । रगतहुँदै शरीरका अन्य भागमा पुग्छ र असर पुर्याउछ । त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर फैलिने र नफैलिने गरी २ प्रकारका हुन्छन ।

क्यान्सरको कारण ?
क्यान्सरले उमेर, वर्ग केही पनि हेर्दैन । धुम्रपान, मादक पदार्थ सेवन मात्र नभइ, बढ्दो उमेर, बदलिदो जीवनशैली, वंशाणुगत, जेनेटिक म्युटेसन ‘जिनमा परिवर्तन’ रसायन, विकिरण, प्रदुषण, सक्रमण, मोटोपनआदि पनि क्यान्सर रोगका कारक तत्व हुन ।

संक्रमण ले कसरी गराउँछ क्यान्सर ?
महिलामा पाठेघरको मुखमा हुने क्यान्सर संक्रमणको कारणले हुन्छ । ह्युमन् प्यापिलोमा भाईरस (एचपीभी) यसको कारण हो । यस भाइरसको संक्रमणले नाक, कान, घाँटीको क्यान्सर पनि गराउन सक्दछ । त्यस्तै एच पाइलोरी नामक ब्याक्टेरियाले पेटको क्यान्सर गराउन मद्दत गर्दछ ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ नामक भाइरसले लामो समयको संक्रमणपछि कलेजोको क्यान्सर गराउन सक्छ । त्यस्तै एच. आई. भी. भाइरसको पनि विशेषतः रगत र ग्रन्थिको क्यान्सरसँग सम्बन्ध रहेको हुन्छ ।

समाधान
रोग लाग्नुभन्दा लाग्न नदिनु नै समाधान को मूल उद्देश्य हो । कतिपय क्यान्सर रोगको लक्षण थाहा हुनु अगाडि नै पत्ता लगाउन सकिन्छ ।

जस्तै ४० वर्ष कटेका महिलाहरुले चिकित्सकको सल्लाह अनुसार आफ्नो स्तनको जाँच गरे समयमै रोगको पहिचान गर्न सक्नुहुन्छ । त्यस्तै, पाठेघरको मुखको क्यान्सर सम्बन्धी विभिन्न स्वास्थ्य शिविरहरु भइरहेका छन् ।

चिकित्सकको सल्लाह बमोजिम पाठेघरको मुखको साधारण जाँच गराइ रोगको पहिचान गर्न सकिन्छ । आहिले त पाठेघरको मुखको क्यान्सरबाट जोगिन एचपीभी भ्याक्सिन पनि आएको छ । कुन उमेरमा लगाउँदा फाइदा हुन्छ भनेर चिकित्सकको परामर्श लिन आवश्यक रहन्छ ।

एउटै परिवारमा क्यान्सर रोगका धेरै जना व्यक्ति हुनुहुन्छ भने, कतै त्यो वंशाणुगत पो होकी भनेर पनि ठम्याउन जरुरी हुन्छ र अन्य सदस्यलाई क्यान्सर हुनबाट जोगाउन सकिन्छ । त्यस्तै ५० वर्ष नाघेपछि सामान्य व्यक्तिले पनि ठूलो आन्द्राको जाँच गराएर ढुक्क हुन सकिन्छ ।

उपचार 
शुरुकै अवस्थामा क्यान्सर रोगको पहिचान गर्न सके यो रोग निको हुन्छ । त्यस्तै रोग अन्तिम चरणमा पुगेता पनि कतिपय क्यान्सर रोगलाई विभिन्न उपचार पद्धतिद्वारा सुगर, प्रेसर जस्तै लामो समयसम्म नियन्त्रणमा राख्न सकिन्छ ।

उपचार पद्दतिहरुः
१. चिरफार
२. किमोथेरापी (खाने चक्की अथवा सुईबाट दिन सकिने)
३. रेडियोथेरापी (विकिरणद्वारा गरिने)
४. हर्माेनल थेरापी
५. टार्गेटेड (चक्की वा सुइ द्धारा)
६. इम्युनो थेरापी
७. मेट्रोनोमिक थेरापी

उपचार शुल्कः
नेपालमा अहिले क्यान्सरको बिरामीलाई १ लाख रुपैयाँको सहुलियत दिइएको छ । रोगको प्रकार र चरण हेरेर कुनै रोगलाई यसै सहुलियतले आरामले पुग्न सक्छ भने कुनैलाई नपुग्न पनि सक्छ ।

कुनै कुनै विदेशमा आती महंगो पर्ने औषधि नेपालमा निःशुल्क पनि पाइन्छ । त्यसैले, उपचारका लागि विदेश धाइराख्न आवश्यक छैन । नेपालमा नपाइने औषधि विदेशबाट मगाएर पनि यतै गर्न सकिन्छ ।

नेपालमा कुन–कुन उपचार सम्भव छ ?
प्रायः सम्पूर्ण उपचार पद्दतिहरु नेपालमै सम्भव छ । क्यान्सर रोगको पहिचान गर्ने पद्दतिदेखि उपचार पद्धतिहरु प्रायः सबै नेपालमा सम्भव छ । दक्ष चिकित्सकहरु पनि छौं ।

तसर्थ, विदेशमा उपचारका लागि जानु अघि एकपटक नेपालकै दक्ष चिकित्सकको सल्लाह लिएको राम्रो हो । नेपालमा यदि कुनै उपचार पद्दति नरहेको खण्डमा हामी आफैपनि बिरामीलाई के गर्दा र कता जाँदा राम्रो हुन्छ निर्देशन दिन सक्छौ । यसले बिरामीको समय र पैसा दुवै जोगाउन मद्दत गर्दछ ।

(डीएम मेडिकल अंकोलोजिष्ट ‘वरिष्ठ क्यान्सर रोग विशेषज्ञ’ डा. सोनिया दुलालको बिचार, हाल वीर अस्पतालमा कार्यरत छिन । दुलालले  बरिष्ठ मेडिकल अन्कोलोजिस्ट प्रा. डा. विष्णुुदत्त पौडेल र हाल अमेरिकामा रहेका प्रा. डा. प्रकाश न्यौपानेको नेतृत्वमा काठमाडौंको न्याम्स, बीर अस्पतालबाट डीएम मेडिकल अंकोलोजिको अध्ययन पूरा गरेकी  हु्न् । )


क्लिकमान्डु