कोरोना प्रभावित यी ६ देशमा पढ्न जाने विद्यार्थीलाई एनओसी नदिने सरकारको निर्णय



काठमाडौं । सरकारले कोरोना भाइरसबाट बढी प्रभावित ६ वटा देशमा उच्च शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा अर्को व्यवस्था नभएसम्म चीन, जापान, दक्षिण कोरिया, इटली, सिंगापुर र इरानमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई एनओसी जारी नगर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको जोखिम रहेका मुलुकमा विद्यार्थी रोक्नका लागि एनओसी जारी नगर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको सूचनामा ६ वटा देश लगायत कोरोना भाइरसको अति प्रभावित र अति जोखिममा रहेका देशहरुमा एनओसी जारी नगर्ने समेत उल्लेख गरेको छ ।

साथै विश्व स्वास्थ्य संगठनले अध्यावधिक गरेको पछिल्लो प्रतिवेदनका आधारमा अहिलेसम्म कोरोना भाइरसबाट प्रभावित नभएका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई भने एनओसी दिने उल्लेख गरेको छ ।


क्लिकमान्डु