विदेशबाट आउने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ, विमानस्थलका पसल हटाइने



काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले विदेशबाट आउने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ गर्ने भएको छ ।

आइतबार बिहान सरोकार वाला निकायहरुबीच भएको छलफलमा विमानस्थल तथा प्रत्येक अध्यागमन कार्यालयमा प्रत्येक नेपाल भित्रने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने तयारी गरिएको छ ।

अध्यागमन विभागका महानिर्देशक ईश्वारराज पौडेलका अनुसार यसअघि चिनियाँ नागरिकलाई लक्षित गरी स्वास्थ्य परीक्षण गर्ने गरिएकोमा अब विदेशबाट आउने प्रत्येक यात्रुको विशेष स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

आइतबार बिहान भएको छलफलमा पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थलमा विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

‘अध्यागमनमा विशेष प्रत्येक यात्रुको विशेष स्वास्थ्य परीक्षण हुनेछ, त्यसका साथै सचेतना, निगरानी र सजगता बढाइनेछ,’ पौडेलले भने ।

यसका लागि विमानस्थलमा स्थान कम भएको खण्डमा त्यहाँ रहेका पसल, कफी सपलाई केही समय बन्द गरी स्वास्थ्य परीक्षणलाई कडाइ गर्न पर्यटनमन्त्री भट्टराईले दिएको निर्देशनलाई उदृत गर्दै एक अधिकारीले भने ।

अध्यागमन विभागका अनुसार अहिले चीनसँगै दक्षिण कोरिया, इटली र इरान जस्ता देशलाई कोरोना भाइरसको रेड जोन भएको सूचीमा राखिएको छ । त्यसैले अब विदेशबाट आउने प्रत्येक नागरिकलाई विशेष स्वास्थ्य परीक्षण गरिनेछ ।

हालसम्म नेपालममा कोरोना भाइरसको संक्रमण देखिएको छैन । शुरुमा एक जनामा देखिए पनि उनी स्वस्थ भइसकेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिममा राखिसकेको अवस्थामा नेपालले पर्यटन प्रचारप्रसारको कार्यलाई स्थगित गरिसकेको छ ।

शनिबार एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले विदेशमा गरिने पर्यटन प्रचारप्रसारको कार्यक्रमलाई मार्च महिनासम्मका लागि स्थगित गर्ने र त्यसपछि आवश्यक निर्णय लिने बताइसकेका छन् ।


क्लिकमान्डु