आरटीजीएस प्रणालीमा आवद्ध हुन राष्ट्र बैंकले दियो सहुलियत, कुन कम्पनीले कति शुल्क तिर्नुपर्छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘रियल टाइम ग्रस सेटलमेन्ट’ आरटीजीएस प्रणालीमा आवद्ध हुन बैंक तथा वित्त कम्पनीहरुलाई सहुलियत दिएको छ । गत साउन २९ गतेदेखि राष्ट्र बैंकले सञ्चालनमा ल्याएको आरटीजीएस प्रणालीमा ५ लाख रुपैयाँ तिरेर बैंक तथा वित्त कम्पनीहरु आवद्ध भइरहेका थिए ।

अब भने आवद्ध हुन इच्छुक बैंक तथा वित्त कम्पनीहरुले आफ्नो पुँजी अनुसारले मात्र आवद्धता शुल्क बुझाउनु पर्ने नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार प्रणालीमा आवद्ध हुन ८ अर्ब चुक्ता पूँजी भएका वाणिज्य बैंकहरुले ५ लाख रुपैयाँ, २ अर्ब चुक्ता पूँजी भएका राष्ट्रियस्तरका विकास बैंकहरुले ३ लाख रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।

चेक नकाटी कसरी भयो सवा ३१ खर्ब भुक्तानी ?

यसअघि नै वाणिज्य बैंक र राष्ट्रियस्तरका सबै विकास बैंकहरु भने आरटीजीएस प्रणालीमा ५ लाख रुपैयाँ शुल्क तिरेर आवद्ध भइसकेका छन् । क्षेत्रियस्तरका विकास बैंक र अन्य वित्त कम्पनीहरुले प्रणालीमा आवद्ध हुन बढी भार परेको गुनासो गरेपछि पूँजी, क्षमताको आधारमा प्रवेश शुल्क तोकिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग बताएको छ ।

जस अनुसार राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सुचना जारी गर्दै क्षेत्रियस्तरका विकास बैंक र वित्त कम्पनीहरुलाई प्रणालीमा आवद्ध हुन २ लाख रुपैयाँ मात्र प्रवेश शुल्क निर्धारण गरिएको छ । साथै राष्ट्र बैंकबाट अप्रत्यक्ष सदस्यताको प्रमाण पत्र लिएका वित्तीय संस्थाहरुलाई १ लाख रुपैयाँ र राष्ट्र बैंकबाट स्पेलियल मेम्बरसीप लिएका क्लियरिङस् हाउस, डीएनएस मेकानिजम, सेन्ट्रल सेक्युरिटी डिपोजेटरीलाई १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

आरटीजीएसमा आवद्ध हुन बैंकले बुझाए साढे २ करोड, अन्य कारोबारको शुल्क कति ?

गत भदौ २९ गतेदेखि भुक्तानी प्रणालीमा शुरु गरिएको आरटीजीएस प्रणाली केही समय सञ्चालनमा आएर बन्द भएर पुनः मसिर ६ गतेबाट सञ्चालनमा आएको थियो ।

आरटीजीएस प्रणालीमा आवद्ध हुन प्रत्येक बैंक तथा वित्त कम्पनीलाई यसअघि तोकेको शुल्क मात्र नभएर बार्षिक कारोबारको शुल्क पनि घटाएको छ । बैंक तथा वित्त कम्पनीले यसअघि वार्षिक शुल्क २ लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्दथ्यो ।

अब भने राष्ट्र बैंकको आरटीजीएस प्रणालीमा रहेर वाणिज्य बैंकहरुले गरेको वार्षिक कारोबारको शुल्क २ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकले १ लाख रुपैयाँ, क्षेत्रियस्तरका विकास बैंक र फाइन्नास कम्पनीले ५० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

चेक बिना बैंकहरुले कसरी गर्छन् सुरक्षित भुक्तानी ? यस्तो छ प्रक्रिया

साथै साथै राष्ट्र बैंकबाट अप्रत्यक्ष सदस्यताको प्रमाण पत्र लिएका वित्तीय संस्थाहरुलाई ५० हजार रुपैयाँ र राष्ट्र बैंकबाट स्पेलियल मेम्बरसीप लिएका क्लियरिङस् हाउस, डीएनएस मेकानिजम, सेन्ट्रल सेक्युरिटी डिपोजेटरीले भने कारोबारको शुल् तिर्नु नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, प्रणालीमा रहेका कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक कारोबारमा बिहान १०ः३० देखि १ः३० सम्म १० रुपैयाँ, १ः३० देखि ३ बजेसम्म २० रुपैयाँ र साँझ ४ः१० सम्मको प्रत्येक कारोबारको भने १०० रुपैयाँ शुल्क लिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंकिङ कारोबारमा तत्कालै भुक्तानी हुने आरजीटीएसमा आवद्ध भएसँगै बैंकमा चेक काट्ने चलन कम हुदै गरेको पाइन्छ । यो प्रणालीबाट भुक्तानी गर्दा चेक काट्नु पर्दैन । खातावालले बैंकलाई भुक्तानीको आदेश दिए पुग्छ । र, तत्कालै सम्बन्धित व्यक्तिले भुक्तानी पाउँछ । यो प्रणाली सुरक्षित, भरपर्दा, सरल र सस्तो पनि भएको छ ।


पुष्प दुलाल