खतिवडाले सञ्चारमन्त्रीको पदभार ग्रहण, भने- सुशासनका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका छ



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पदभार ग्रहण गरेका छन् । आइतबार खतिवडाले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दैै मन्त्री खतिवडाले शासकीय सुशासन कायम गर्नका लागि जनताको सहभागिता आवश्यक भएको भन्दै त्यसमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए ।

शासकीय प्रणालीको पुर्नसंरचना भएको मुलुकमा २ वर्ष छोटो समय भएको भन्दै यसअवधिमा कैयन काम भएको दाबी समेत गरे ।

‘हामीले पहिलो वर्ष आधार वर्ष भनेकै हो, दोस्रो वर्षमा आइपुग्दा एक खुड्किलो अगाडि बढेका छौं । सरकार बनेको २ वर्ष भइसकेको अवस्थामा धेरैलाई लामो समय लाग्न सक्छ,’ उनले भने ।

यसबीचमा राज्यको पुर्नसंरचना, कानून निर्माणहरु बने त्यसैले केही समय लागेको उनले बताए ।

‘जे भएको कुरा हो त्यही कुरा जनतामा पुर्याउने काम सञ्चारमाध्यम हो, त्यसमा सञ्चारमाध्यम जिम्मेवार हुनु जरुरी छ,’ उनले भने ।

उनले विकासलाई समावेशी बनाउनु पर्ने र मुलुकको समृद्धिको यात्रामा नागरिकलाई सूसुचित हुन पाउने अधिकारलाई संरक्षण गर्नुपर्छ । समृद्धमा नागरिकहरु उत्पादक हुनुपर्छ । सवलिकृत नागरिक बनाउनका लागि प्रविधिको पहुँच निकै महत्वपूर्ण हुन्छ ।

सेक्युरिटी प्रेसको खरिदका क्रममा ७० करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय खाली भएको थियो । राजीनामा दिएकै दिन मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिइएको थियो । भने सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिइएको थियो ।


क्लिकमान्डु