संचारमन्त्रीले कमिसन मागेको अडियो आएपछि सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न निर्देशन



काठमाडौं । सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) खरिद प्रक्रिया पूर्ण रुपमा रोक्न निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले प्रिन्टिङ प्रेस खरिद प्रकृयामा भ्रष्टाचार भएको देखिएको भन्दै प्रिन्टिङ प्रेसको टेन्डर, खरिदको सबै प्रकृया रोक्न सम्बन्धित निकायलाई लिखित पत्र पठाउने बताए ।
बिहीबारको छलफलमा सहभागी सांसदहरुले पनि प्रिन्टिङ प्रेस खरिद प्रकृयामा ठूलो भ्रष्टाचारको संकेत देखिएको भन्दै त्यसको छानविन गर्न उपसमिति गठन गर्न माग गरेका छन् ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकाप पौडेलको अभिव्यक्ति झारा टार्ने काम मात्रै भएको भन्दै उपसमिति नै गठन गर्न माग गरेका हुन ।

समितिको बैठकमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसदमा हरेक विषयको जवाफ दिन आउँदा विषयमा गम्भिरतालाई बुझेर मात्र आउन चेतावनी दिएका छन् । उनले कुनै पनि विषयमा अमूर्त जवाफ दिने हो भने त्यसको परिणम कानूनी कारबाही समेत हुनसक्ने चेतावनी दिए । उनले बोलेका कुरा मिलेन भन्ने संसदको विशेषाधिकार प्रयोग हुने र त्यही अनुसारको दण्ड जरिवाना हुने पनि जानकारी गराए । उनले जवाफ दिँदा होस पुर्याउन समेत आग्रह गरे । उनले यसमा ठूलै आर्थिक अनियमितता भएको भन्दै कडाइका साथ अध्ययन गर्नुपर्ने बताए ।

बैठकमा स्वीजरल्याण्ड, फ्रान्समा सरकारका मन्त्रीसहितको भ्रमणमा कसले खर्च गरेको भन्दै प्रश्न गरेका छन् ।

यो विषयमा सरकारबाट हुने उच्चस्तरिय वा निम्न स्तरिय कुनै पनि भ्रमणको खर्च कसले गरेको भन्ने विषयले निकै अर्थ राख्ने बताए ।

बैठकमा सांसद राजन केसीले जि टु जि खरिद हुने भनेपनि यति धेरै सरकारको तर्फबाट किन भ्रमण गरेको भन्दै प्रश्न गरेका छन् ।
यो विषयमा हल्का रुपमा लिन नहुने उनको तर्क छ ।
सांसद उमेश यादवले यो प्रकृया तत्काल नरोकेको खण्डमा ४९.२ मिलियन भ्रष्टाचार हुने बताए । उनले अब सार्वजनिक खरिद ऐन अन्तर्गन अघि बढनुपर्ने बताए ।


क्लिकमान्डु