रामकुमारी झाँक्रीको प्रश्न: चुनावमा काठमाडौंहुँदै काभ्रेसम्म मोनोरेल चढ्यौ, अब यसको औचित्य के ?



काठमाडौं । सांसद रामकुमारी झाँक्रीले चुनावमा आकर्षक भाषण गरेर भोट ल्याउनका लागि गरिएको मोनोरेलको प्रचार आर्थिक विकासमा कत्तिको प्रभावकारी रहेको ? भन्दै प्रश्न गरेकी छिन् ।

अर्थसमितिको बैठकमा सांसद झाँक्रीले आर्थिक विकासका लागि मोनोरेलको प्रभावकारिता के हुने ? र, त्यसमा हुने खर्च कसरी धान्न सक्ने भन्दै उनले प्रश्न गरेकी हुन् ।

कुनै पनि अध्ययन बिना मोनोरेल राष्ट्रिय गौरवको आयोजनामा पार्नु केटाकेटी कुरा भएको उनको तर्क छ ।

‘चुनावको समयमा हामी कीर्तीपुर, पाटन, काठमाडौं, भक्तपुरदेखि काभ्रेसम्मै मोनोरेल चढदै गयौं, के मोनोरेल यसरी आउने हो । यो कति वर्षमा हुन्छ ?’ उनले भनिन् ।

कुनै योजना अध्ययन बिनै राष्ट्रिय गौरवको आयोजनामा राख्ने र राम्रो आयोजनाको कद घटाउने काम भएको उनले आरोप लगाइन ।

‘मोनोरेल ठीक छ की छैन भनेर कतिवटा सर्भे भए ? कति वटा प्राविधिक विश्लेषण भए, कहाँ बनाउँदै छौं, कति पैसा लाग्ने हो, यो प्राविधिक हिसाबले सम्भव छ की छैन ? यस्ता विषयमा विश्लेषण अहिलेसम्म हुन सकेन,’ उनले भनिन् ।

अहिले रेलमार्गको पनि कुरा चलिरहेको भन्दै अहिले यूरो स्ट्यान्र्डडको कुरा चलेको समयमा जनकपुरको रेल साइकलको जति पनि गति नभएको गुनासो आउन थालेको भन्दै त्यस विषयमा पनि प्राविधिकले हेर्न आवश्यक रहेको उनको तर्क छ ।

यस्ता प्राविधिक काम योजना आयोगले गर्न आवश्यक रहेको उनको तर्क छ । अहिले पनि २२ वटा राष्ट्रिय गौरवका आयोजना च्यापेर बस्ने अनी २० लाखको आयोजना यतै हाल्ने हो भने त्यसको कुनै अर्थ नहुने सांसद झाक्रीको तर्क छ ।

विकास निर्माणमा योजना आयोगको हात माथि हुनुपर्ने उनको तर्क छ । त्यो भएको खण्डमा मात्रै भौतिकसँगै वित्तीय प्रगति पनि हुने झाँक्रीको भनाइ छ ।

आयोजना स्वकेशमा राख्ने काम खासै प्रभावकारी नभएको भन्दै त्यसमा पनि पुर्नबिचार आवश्यक भएको बताइन । २२ वटा राष्ट्रिय गौरवका आयोजना भएको तर त्यसको प्रगति निकै सुस्त रहेको उनको भनाइ छ ।

गेम चेञ्जरको रुपमा जहाँजहाँ सिँचाइका लागि पानी लैजाने भन्दैछौं, त्यहाँका जग्गा सबै प्लटिङ भएर घर जग्गाको कारोबार भएको उनको तर्क छ ।


क्लिकमान्डु