कोरोना प्रभाव – चिनियाँ कामदार आउन नसक्दा जलविद्युत् आयोजना प्रभावित



काठमाडौं । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण कामदार रोकिँदा नेपालका दुई विद्युत आयोजानको काम ठप्प भएको छ ।

गत २३ जनवरीमा चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार कोरोना फैलिएपछि आउन नसक्दा दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको हो ।

खिम्ती–२ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइन वक्र्स (सिडब्लु टिडब्लु) ले लिएको थियो । दुवै आयोजना निर्माणमा ठेकेदार कम्पनीले चिनियाँ कामदार लगाएको थियो ।

चीन गएपछि कोरोनाका कारण कामदार फर्कन नसक्दा काम रोकिएको दुवै आयोजनाका कम्पनी म्यानेजर रामहरि शर्माले जानकारी दिए । ‘ठेकेदार कम्पनी हाम्रो सम्पर्कमा छ’, शर्माले भने, ‘तर कोरोनाका कारण आउन नसकेको जानकारी आएको छ ।’

पिपुल्स इनर्जीका कम्पनी सचिव जनार्दन अर्यालले ठेकेदार कम्पनीका कर्मचारी र कामदार कहिले नेपाल आउने भन्ने यकिन नभएको जानकारी दिए ।


क्लिकमान्डु