६ महिनामा बैंकहरुले १ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप बढाउदा कर्जा १ खर्ब ९७ अर्ब रुपैयाँले बढ्यो



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको ६ महिनामा निक्षेप संकलनको तुलनामा २.४० प्रतिशत बढीले कर्जा बढाएका छन् । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले असार मसान्तको तुलनामा पुस मसान्तमा १ खर्ब ५८ रुपैयाँ निक्षेप बढाउँदा कर्जा लगानी भने १ खर्ब ९७ अर्ब रुपैयाँले बढाएका हुन् ।

गत असार मसान्तमा बैंकहरुको निक्षेप संकलन २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा बैंकहरुले निक्षेपमा ५.४७ प्रतिशतले वृद्धि गरी ३० खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । सो अबधीमा बैंकहरुको निक्षेप १ खर्ब ५८ अर्ब रुपैयाँले बढेको छ ।

यस्तै असार मसान्तमा २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले पुस मसान्त सम्ममा ७.८८ प्रतिशतले वृद्धि गरी २६ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सो अवधीको निक्षेप संकलनको तुलनामा कर्जा लगानी २.४० प्रतिशत बढी हो ।

निक्षेप बढाउन नसकेपनि बैंकहरु कर्जा विस्तारमा भने निकै आक्रमक देखिएका छन् । बैंकहरुले चालु आवको दोस्रो त्रैमासमा पनि पहिलो त्रैमासको तुलनामा ६५ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । सो अबधीमा बैंकहरुको निक्षेपमा भने ६३ अर्ब रुपैयाँ वृद्धि भएको छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंकहरु ३० खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् । असोज मसान्तमा बैंकहरुको निक्षेप संकलन २९ खर्ब ७३ रुपैयाँ र कर्जा लगानी २६ खर्ब २९ अर्ब रुपैयाँ थियो ।

कात्तिक महिनादेखि बैंकहरुमा देखिएको कर्जा विस्तारको सुस्तताले भने पुसमा पनि निरन्तरता पाएको छ । निक्षेप खासै बृद्धि नभएपनि कर्जाको माग घटेको कारण बैंकहरुमा तरलता व्यवस्थापन अहिले सहज छ ।


क्लिकमान्डु