अर्थमन्त्रीले पार्टीको सिद्दान्तअनुसार नै काम गर्नु भएको छः महासचिव पौडेल



काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले अर्थमन्त्री डा. युवराज खतिवडाले पार्टीको सिद्दान्त अनुसार नै काम गरेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट २०२० मा आयोजित कार्यक्रममा महासचिव पौडेलले अहिले अर्थमन्त्री डा. खतिवडाले पार्टीको लाइन र सिद्दान्त अनुसार नै काम गरेको बताएका हुन ।

पार्टीको नीतिभन्दा बाहिर कुनै पनि नेता तथा मन्त्री जान नपाइने उनको तर्क छ । उनले अर्थमन्त्रीले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन धेरै प्रयास गरेको बताए ।

‘रोगीलाई इन्जेक्सन लगाउँदा दुख्छ । अहिले इन्जेक्सन लगाउँदा बच्चा रोएजस्तो भएको छ,’ उनले भने ।

अहिले सरकारले नियमनमा पनि ध्यान दिएको र त्यसले गर्दा सरकारको काम कारबाहीमा आलोचना भएको उनको तर्क छ । उनले सरकारको विषयमा जे नै चर्चा हुने भएपनि अनुशासित रुपमा चलिरहेको तर्क गरे ।

उनले देशमा संविधान, कानून रहेको र सबै विषय त्यही अनुसार नै चल्ने बताए । पौडेलले देशको अर्थतन्त्रलाई अनुसाशित बनाउनु सबैको समान भूमिका रहने बताए । यो कम्यूनिष्टको सरकार भएकाले त्यसको सिद्दान्त अनुसार पनि चल्ने बताए ।


क्लिकमान्डु