इक्यान नेतृत्वका लागि सर्वसम्मतको प्रयास जारी, सम्भावना झिनो
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यही पुस २६ गते नयाँ कार्यसमिति चयन गर्दैछ । जसका लागि नेतृत्वमा आ–आफ्नो दाबी रहे पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयन होस् भन्ने हेतूले प्रयास भने भइरहेको छ ।
यद्यपि आ–आफ्नै अडानका कारण सर्वसम्मत एकअर्कालाई नेतृत्व स्वीकार गर्ने सम्भावना कमजोर हुँदै गएको छ । त्यसैले बुधबार दिनभरीमा सर्वसम्मत नभए बिहीबार आ–आफ्नो समूहसहित उम्मेदवारी घोषणा गर्ने तयारी देखिएको छ ।
नेतृत्वका लागि वर्तमान अध्यक्ष विष्णुहरि पाण्डे र निर्वमान अध्यक्ष प्रकाश पाण्डे अगाडि देखिएका छन् । भने वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष महेशबाबु तिमिस्लिना पनि अध्यक्ष पदका लागि दावेदार देखिएका छन् ।
साधारण सभा आउन ३ दिन बाँकी रहँदा नेतृत्व चयनका लागि दाबेदारहरुले एकअर्कालाई छाड्ने मनस्थितीमा देखिन्नन् । यद्यपि सर्वसम्मतका लागि अझै पनि प्रयास भने जारी छ ।
विष्णुहरि पाण्डे कार्यकाल थप्न चाहन्छन् भने प्रकाश पाण्डे आफू एकपटक फेरि नेतृत्व लिन चाहेका छन् । प्रथम उपाध्यक्षका हैसियतले आफू अध्यक्ष हुनु स्वभाविक भएको तिमिल्सिनाले दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।
अध्यक्षका दाबेदारहरुले सर्वसम्मत आफू नेतृत्वमा आए सबै पक्षलाई मिलाएर लैजान सकिने बताउँदै आएका छन् । अध्यक्ष पदमा सहमति भएको अवस्थामा अन्य पदमा कसलाई ल्याउने भन्ने विषयमा समस्या भने देखिँदैन् ।
यसपटकको इक्यान नेतृत्वको माहोल भने विगतका तुलनामा निकै फरक देखिएको छ । विगतका २ वटा निर्वाचनलाई हेर्दा राजनीतिक हावी भएको निर्वाचनमा यसपटक भने त्यो निकै कम देखिएको छैन ।
पछिल्लो निर्वाचनमा नेकपा र कांग्रेसले आ–आफ्ना प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । जसमा नेकपाको समर्थन रहेका विष्णुहरि पाण्डे बिजयी भएका थिए । यद्यपि कांग्रेसका तर्फबाट उपाध्यक्षका उम्मेदवार महेशबाबु तिमिल्सिना र राजेन्द्र रिजाल निर्वाचित भएका थिए ।
निर्वाचनमा हार बेहोरेपछि सरोजकुमार बस्नेतको कांग्रेस निकट समूहले इक्यान छाडेर अर्कै संघ स्थापना गर्न पुगेका थिए । तर एकवर्ष नबित्दै उक्त संघमा समेत विवाद आएपछि आफूसँग पराजित भइ इक्यानबाट छुटिट्टएका बस्नेतसहित ४० जनाको समूहलाई विष्णुहरि पाण्डेकै कार्यकालमा इक्यानमा फर्किएका थिए ।
जसले गर्दा कांग्रेस निकटका व्यवसायीहरु अहिले कमजोर देखिएका छन् । त्यसले यसपटक नेकपा निकटका व्यवसायीबीच नै बढी प्रतिष्पर्धा देखिएको हो । तर निर्वाचन हुने अवस्थामा बस्नेतको समूहले कसलाई समर्थन गर्छ भन्ने पनि महत्वपूर्ण हुनेछ ।