चिनारी कृषि फार्ममा आगालागी डेढ करोड बढी क्षति



लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरलीमा रहेको चिनारी कृषि फार्ममा विद्युत सर्ट भई आगालागी हुँदा डेढ करोड बढी क्षति भएको छ ।

फार्ममा रहेको ५० बाख्रा र १ सय लोकल कुखुरा जलेर नष्ट भएको छ । मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत सर्ट भएपछि फार्ममा आगालागी भएको हो ।

फार्ममा १ सय ७० वाख्रा र ३ सय लोकल कुखरा थिए । आगालागी हुँदा दुई वटा वाख्राको आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको छ ।

आगालागीबाट करिब डेढ करोड बढीको क्षति भएको छ । ०७२ सालबाट ६० वटा वाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको थियो । सुरुमा ४ करोड लगानीबाट शुरु गरिएको फार्ममा हाल ५ करोड लगानी पुगेको छ ।

‘आगो निभाउन प्रहरी र स्थानीयले सक्रियताका साथ सहयोग गर्नु भयो त्यसका लागि हार्दिक धन्यवाद दिन्छु,’ सञ्चालक भरतराज पोखरेलले भने । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु