कलेजको सम्बन्धन खारेजपछि परीक्षाबाट बञ्चित भएका नर्सिङ छात्राले दिए आत्मदाहको चेतावनी



काठमाडौं । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरु अध्ययनरत भक्तपुर ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेज खारेजीमा परेको थियो ।

जसका कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह गर्ने चेतावनी दिए ।

‘हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न बाध्य हुनेछौं,’ पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन् ।

पीडित ३० जना छात्राहरुले सीटीइभीटीदेखि शिक्षामन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि २ वर्ष नर्सिङ अध्ययन खेर गएको थियो ।

पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरुले पाउन नहुने बताइन् । सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न वाध्य हुने उनको भनाइ थियो ।

पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाही सिटिइभिटी र कलेजबीचको विवादको कारण विद्यार्थीहरुले समस्या भोग्नु परेको जानकारी दिइन् ।

गत कात्तिक ४ गते सर्वोच्च अदालतले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जाँदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन् ।

‘हामीलाई उल्टै गल्ती गरेको भनियो । राज्यको जिम्मेवार अधिकारीले हामीलाई थप पीडित बनाउनुभयो,’ उनले भनिन् ।

२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन् । २२ साउनमा सिटिइभिटीलाई अदालतले स्टे–अर्डर दिएपनि २०७६ सालमा कलेज खारेज भएको थियो ।

नर्सिङका छात्राहरुले दिन लागेको परीक्षा सिटिईभिटीले रोकेको खुलाइन् । सिटिभिटीसंग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वाशन दिए पनि समस्या भने जस्ताको तेस्तै रहेको प्रेमिका शाहीको भनाइ थियो ।

शाहीले आफहरुले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिएपनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन् ।

‘अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्न समेत बाध्य हुनेछौं,’ उनले भनिन् ।

विद्यार्थीको हक हितमा सक्रिय संगठनहरुले पनि आफूलाई सहयोग नगरेको गुनासो गरिन् । शाहीले विद्यार्थी संगठनहरुलाई गम्भीर ढंगले समस्याको समाधान गरिदिन आग्रह गरेकी छिन् ।


क्लिकमान्डु