ग्ल्यामर सीइओ अनिल शाहको मासिक तलब ११ लाख, अरु सुविधा कति ?



काठमाडौं । ग्लामर सीइओ अनिल शाहको मासिक तलब ११ लाख रुपैयाँ रहेको देखिएको छ ।

नबिल बैंकमा पछिल्लो दुईवर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत शाहले गत आर्थिक वर्षमा मासिक ११ लाख रुपैयाँ तलब बैंकबाट लिएको देखिन्छ ।

बैंकले प्रकाशित गरेको वार्षिक विवरण अनुसार शाहले गत आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३२ लाख रुपैयाँ तलब वापत बुझेका छन् ।

यस्तै ४९ लाख १२ हजार ९७२ रुपैयाँ अन्य सुविधा अन्तर्गत बुझेको वार्षिक विवरणमा उल्लेख छ । बैंकले शाहको निवृत लाभको लागि १७ लाख रुपैयाँ खर्च गरेको छ । कुल १ करोड ९८ लाख रुपैयाँ शाहले तलब सुविधा अन्तर्गत लिएका छन् । यसबाहेक १ करोड ८१ लाख रुपैयाँ अल्पकालिन कर्मचारी लाभ अन्तर्गत शाहलाई भुक्तान गरिएको बैंकको विवरणमा उल्लेख छ ।

शाहले यसरी प्राप्त गर्ने तलब सुविधामा तिर्ने कर भने उल्लेख गरिएको छैन । नबिल बैंक कर्मचारीलाई सबैभन्दा बढी तलब सुविधा दिने बैंकमा पर्छ ।

बैंकले गतवर्ष कर्मचारीको तलब सुविधाको लागि १ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो सुविधा १ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो ।

नबिल बैंकमा काम गर्ने कर्मचारीले तलबभन्दा भत्ता बढी पाएको देखिन्छ । गतवर्ष तलब शिर्षकमा ३९ करोड १३ लाख रुपैयाँ खर्च भएको छ भने भत्ता अन्तर्गत ५९ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । कर्मचारीले ६७ करोड १२ लाख रुपैयाँ बोनस वापत प्राप्त गरेका छन् ।

नबिल बैंकको मंगलबार हुने साधारणसभाले २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने निर्णय गर्दै छ ।


क्लिकमान्डु