६ भन्सारबाट निर्यात शुन्य, सबैभन्दा बढी वीरगञ्ज भन्सारबाट निर्यात



काठमाडौं । नेपालबाट निर्यात गरिने सामानको परिमाण पछिल्ला केही महिनायता वृद्धि भइरहेको छ । तर केही भन्सार नाकाबाट भने विगत केही महिनायता निर्यात शुन्य छ ।

कुल २४ वटा भन्सार नाकामध्ये ६ वटा भन्सार नाकाबाट चालु आवको पहिलो ५ महिनामा निर्यात शुन्य भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

जसमा जलेश्वर, सर्लाही, जनकपुर, भद्रपुर, महेशपुर र सेती भन्सार हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको वस्तु तथा समान आयात निर्यातको तथ्यांकअनुसार ६ वटा भन्सार नाकाबाट ५ महिनामा वस्तु तथा सामान निर्यात हुन नसकेको हो ।

सरकारले लक्ष्य अनुसारको राजश्व संकलनका लागि भन्सार नाकाहरुको स्तरोन्नती गरी जनशक्ति एवं साधन र स्रोत उपलब्ध गराएको छ ।

आन्तरिक उत्पादन बढ्न नसक्दा र उत्पादित वस्तु तथा सामानको अन्तर्राष्ट्रिय माग नहुँदा ती भन्सार नाकाबाट निर्यात हुन नसकेको हो ।

चालु आर्थिक वर्षको ५ महिनामा सञ्चालनमा रहेको २४ वटा भन्सार नाकाबाट ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । त्यस्तै १८ वटा भन्सार नाकाबाट ४७ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ ।

विभागका अनुसार वीरगञ्ज भन्सार नाकाबाट निर्यात मात्रा बढी छ । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १४ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु तथा समान निर्यात भएको हो ।

यस्तै दोस्रो स्थानमा बिराटनगर भन्सार नाका छ । उक्त भन्सार नाकाबाट कात्तिक मसान्तसम्म १३ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सो अवधिमा १० अर्ब ८५ करोड २४ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ ।


क्लिकमान्डु