आपराधिक क्रियाकलापमा संलग्न चिनियाँलाई घर भाडामा दिने डा. भोला रिजाल यसो भन्छन्



काठमाडौं । नेपाल प्रहरीले चिनियाँ प्रहरीको विशेष टोलीको सहकार्यमा काठमाडौंमा बसी चिनियाँ नागरिक विरुद्ध ठगी गर्ने १२२ जनालाई एकैदिन पक्राउ गर्यो ।

सान्टियागोमा सम्पन्न इन्टरपोलको ८८औं सम्मेलनमा इन्टरपोलका प्रमुखका साथै नेपाल र चीनका प्रमुखहरुबीच यसबारेमा छलफल भएको थियो । जसका आधारमा नेपाल प्रहरी र चीन प्रहरीको विशेष टोलीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

नेपाल प्रहरीले राजधानीका विभिन्न ९ वटा घर भाडामा लिएर विद्युतीय माध्यम प्रयोग गरी चीन विरोधी गतिविधी गरिरहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । जसमा उनीहरुले महंगो भाडा तिरेर घर भाडामा लिएको प्रहरीले सार्वजनिक गरेको थियो ।

९ वटा घरमध्ये एउटा घरमा भीआईपीको नाम पनि जोडियो, स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको । उनको नाममा डाक्टरसँगै कुशल गीतकार, गायक, कथाकार, चलचित्र निर्माताको परिचय पनि जोडिएको छ ।

डा. रिजालको बुढानिलकण्ठस्थित ३ तले घर भाडामा लिएर उनीहरुले लामो समयदेखि अवैध धन्दा चलाइरहेका थिए । उनको घरबाट ११ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । जसमा १० जना पुरुष र १ जना महिला थिए ।

यस विषयमा जानकारी लिन हामीले डा. रिजाललाई बिहीबार दिउँसो फोन सम्पर्क गर्यौं ।

घरमा बिरामी अवस्थामा आराम गरिरहेका डा. रिजालले उक्त घटनाले आफूलाई निकै चिन्तित बनाएका बताए ।

प्रहरीले चिनियाँ नागरिकसँगै अनुसन्धानको दायरामा घर मालिकलाई पनि ल्याएको थियो । प्रहरी स्रोतका अनुसार ती सबै घरबेटीलाई अनुसन्धानको दायरामा राखिएको छ । अहिले ती सबै घरमा तालाबन्दी गरिएको छ ।

डा. रिजालले पनि आफ्नो घरमा ताला लगाएको स्वीकारेका छन् । क्लिकमाण्डुँगको कुराकानीको क्रममा उनले आफ्नो घरमा अहिले प्रहरीले ताला लगाएको र भोलि (शुक्रबार) ताला खोल्ने जानकारी दिए ।

‘चार महिनाअघि उनीहरुले मेरो घर भाडामा लिएका थिए । मासिक सवा २ लाख भाडा लिनेगरी दिएको थिएँ । पहिले १०/१२ जना मात्रै बस्ने भनेर दिएको घर पछि २०/२५ जना बस्न थाले, निकै फोहोर पनि भयो, त्यसपछि म आफैले प्रहरीलाई खबर गरेको थिएँ,’ उनले क्लिकमाण्डूसँग भने ।

उनले यसो बताए पनि प्रहरीले भने १२२ जनालाई नै एकैपटक अर्थात आइतबार मध्यान्न १ बजेर २५ मिनेटमा नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सबै घरवालाई बोलाएर सोधपुछ गरिसकेको छ । प्रहरी स्रोतका अनुसार अन्य घरबेटीलाई मुचुल्कामा हस्ताक्षर गराएर छाडेर पनि ठमेलस्थित घरका घरधनीलाई भने थुनामा राखेको छ । ती घरबेटी एक महिनामै चार पटकसम्म विदेश भ्रमण गरेको तथ्य पत्ता लागेपछि शंकाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

ती घरबेटी चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउनु अघि भएको चिनियाँ दुतावास अगाडि भएको विरोधमा उनको पनि संलग्नता देखिएको प्रहरी स्रोतले जानकारी दियो ।

प्रहरीले अहिले डा. रिजाललगायत घरबेटीलाई थप अनुसन्धान गरिरहेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर कैफियत देखिएको खण्डमा कसैलाई पनि नछोडने र अनुसन्धानको दायरामा ल्याउने बताइसकेको छ ।

प्रहरीका अनुसार कतिपय घरवाला सामान्य हुन सक्ने र कतिपय अवान्छित गतिविधिमा लागेको पनि हुनसक्ने देखिएको छ ।


क्लिकमान्डु