सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सघाउने परिसंघको प्रतिबद्धता




काठमाडौं । नेपाल उद्योग परिसंघले सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट आएको ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यक्रमको कार्यान्वयनमा पुनः प्रतिवद्धता जनाएको छ ।

आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित अन्तक्र्रियामा परिसंघले योजना कार्यान्वयन तहमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने जानकारी गराएको हो ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पेश गरेका छन् ।

परिसंघले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, विदेशी कामदारको प्रश्न, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा रोजगारदाता तथा श्रमिकहरुका सुझावहरु समेटेर प्रतिवेदन तयार गरेको थियो ।

अध्यक्ष मोरले परिसंघका सुझावहरु कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि हुँदा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताए ।

सो अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कार्यक्रमलाई आकर्षक र प्रतिफलमुखी बनाउदै जान सरकार तयार रहेको बताए । नेपालको सन्र्दभमा सामाजिक सुरक्षा नयाँ कार्यक्रम भएकाले यसमा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि मन्त्री विष्टले व्यक्त गरे ।

सो अवसरमा मन्त्रालयका सचिव विनोद केसी, सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले सुरक्षा कोष कार्यान्वयमा देखिएका व्यवहारिक कठिनाइ समाधानबारे भएका पहलबारे जानकारी गराएका थिए ।

अन्तक्र्रियामा परिसंघका उपाध्यक्षहरु विष्णु अग्रवाल, सुलभ अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारदा लगायत उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।


क्लिकमान्डु