सीपमूलक तालीम सञ्चालन गर्न घरेलु महासंघ र सीटीइभिटीबीच सम्झौता



काठमाडौं । लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमूलक तालीम सञ्चालन गर्नका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ ।

सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा गरिएको सहमतिका लागि महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र सीटीइभिटीका तर्फबाट सदस्यसचिव डा. पुष्परमण वाग्लेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

संघ,प्रदेश,स्थानिय तह स्तरीय जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यस्थलमा आधारीत सीप विकास तालीम तथा क्षमता अभिबृद्धि कार्यक्रमहरू सञ्चालन गर्न परिषद् केन्द्रीय,प्रदेश कार्यालय तथा महासंघको पालिका,जिल्ला,प्रदेश,केन्द्रीयस्तरमा आवश्यकतानुसार समन्वय हुने गरी गर्ने व्यवस्था मिलाउने सम्झौतापत्रमा उल्लेख छ ।

तालीम प्रदायक शिक्षण संस्थाहरु,शिक्षालयहरु मार्फत सञ्चालित कार्यस्थलमा आधारित सीपमूलक तालीम कार्यक्रमहरूका प्रशिक्षार्थीहरुलाई महासंघका सदस्य उद्योग,व्यवसायहरूमा कार्यस्थल प्रशिक्षणको अवसर प्रदान गर्नुका साथै कार्यस्थलमा आधारित सीपमुलक तालीम कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सदस्य उद्योगलाई कार्यस्थलमा आधारित सीप प्रशिक्षण प्रक्रिया, दायित्व, जिम्मेवारी बारे अभिमुखीकरण प्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ ।

औद्योगिक प्रशिक्षार्थी तालिमका लागि उद्योग पहिचान, औद्योगिक प्रशिक्षण र आवश्यक सहकार्यकालागि महासंघले सहयोग गर्ने भएको छ । कार्यस्थलमा आधारित तालीम कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिएका नीतिगत सुधारका लागि सम्बन्धित निकायहरुमा संयुक्त पहल गर्ने पनि सम्झौतामा उल्लेख छ ।

नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु र महिला तथा युवाद्वारा सञ्चालित उद्यम व्यवसायमा आवश्यक सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण र सीपको आवश्यकता पहिचान गरी कार्यस्थलको सीकाईका माध्यमबाट जनशक्तिको उत्पादन तथा रोजगारी सुनिश्चिततामा सम्झौताले राम्रो नतिजा दिने अपेक्षा गरिएको छ । सहमति कार्यान्वयनले व्यवसायमा सीपमुलक जनशक्ति उपलव्ध भई उद्योगको स्तरोन्नती हुने र बेरोजगारी समस्या क्रमशः हल हुने अपेक्षा पनि गरिएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु घरेलु तथा साना उद्योगहरुमा सीपयुक्त जनशक्ति नभएसम्म यस्ता उद्योग फष्टाउन नसक्ने बताए । उद्योग फष्टाउन नसकेसम्म देश समृद्घ बन्न नसक्ने उनको भनाई छ । उद्योगहरुमा चाहिने जनशक्ति उद्योगमैत्री हुनुपर्ने भन्दै अध्यक्ष गिरीले समय सुहाउँदो उत्पादन र प्रतिष्पर्धामा जानका लागि दक्ष जनशक्तिबाट मात्रै सम्भव हुने बताए ।

सीटीइभिटीका सदस्य सचिव डा. वाग्लेले सम्झौता कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिंदै उद्योगलाई कस्तो खालको कामदार आवश्यकता पर्छ त्यसै अनुरुपको जनशक्ति तयार गरिने बताए । उद्योग र त्यसमा काम गर्ने कामदारका लागि सम्मानजनक रुपले काम गर्ने वातावरण बनाउन सम्झौताले भूमिका खेल्ने उनको भनाई छ ।


क्लिकमान्डु