बिक्री कम भएका बेला सिमेन्ट उद्योगमा भित्रियो क्यानडाबाट ५० करोड विदेशी लगानी



काठमाडौं । सिमन्टको बजार कमजोर बन्दै गएका बेलामा नेपालमा शतप्रतिशत विदेशी लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि प्रतिबद्धता आएको छ ।

कुल ५० करोडको वैदेशिक लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि उद्योग विभागमा प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गत साता क्यानडाबाट उक्त लगानीका लागि प्रतिबद्धता आएको हो ।

उद्योग विभागमा गत मंसिर ३ गते दर्ता भएको उक्त कम्पनीले छिट्टै प्रक्रिया पूरा गरेर काम अगाडि बढाउने विभागले जानकारी दिएको छ ।

विभागका अनुसार कैलाली जिल्लामा स्थापना हुने उक्त उद्योगमा सिमेन्टबाट प्रत्येक दिन १६०० टन सिमेन्ट उत्पादन हुनेछ । त्यस्तै, वार्षिक २ लाख ४० हजार मेट्रिक टन पार्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी) उत्पादन गर्नेछ । त्यस्तै, अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) पनि २ लाख ४० हजार मेट्रिक टन उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ ।

उद्योग विभागका अनुसार कम्पनीले ७० जनालाई रोजगारी दिनेछ । कम्पनीको कुल पुँजी ५० करोड हुनेछ । जसमध्ये स्थिर पुँजी ३३ करोढ ३९ लाख रुपैयाँ र चालु पुँजी १६ करोड ६१ लाख रुपैयाँ छ ।

पछिल्लो वर्ष सिमेन्ट उद्योगको व्यवसाय कमजोर बन्दै गएको छ । मुलुकमा थप आर्थिक गतिविधि बढ्न नसक्दा र पूर्वाधार विकासका कामहरु हुन नसक्दा त्यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा परेको हो ।


क्लिकमान्डु