कात्तिक महिना बैंकका लागि निराशाजनक, निक्षेप १ अर्बले बढ्दा ऋण ११ अर्बले बढ्यो



काठमाडौं । कात्तिक महिना बैंकहरुको लागि निराशजनक देखिएको छ ।

एक महिनामा बैंकहरुमा जम्मा २ अर्ब रुपैयाँले निक्षेप बढेको छ । ऋण भने ११ अर्ब रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा कम ऋण नै कात्तिक महिनामा गएको छ । कात्तिकको अन्तिम सातामात्र ९ अर्ब रुपैयाँले ऋण गएको छ । निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ ।

असोज मसान्तसम्ममा वाणिज्य बैंकमा २९ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप थियो । कात्तिक मसान्तमा बैंकहरुमा २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

बैंकहरुले असोज महिनामा १ खर्बभन्दा बढीले निक्षेप बढाएपनि कात्तिक लागेसँगै बैंकमा निक्षेप घटेको थियो । ऋण तर्फ असोज महिनामा ६८ अर्ब रुपैयाँ बढेको थियो । कात्तिक लागेपछि ऋण घटेको थियो । अन्तिम सातामात्र ऋण रकम बढेको हो ।

असोज मसान्तसम्ममा बैंकहरुले २६ खर्ब २९ अर्ब रुपैयाँ ऋण दिएकोमा कात्तिक मसान्तसम्म त्यो बढेर २६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले विकास खर्च नगर्दा निक्षेप बढेको छैन । अहिले बैंकहरुमा ऋणको समेत माग छैन । जसले गर्दा बैंकहरुलाई तरलता व्यवस्थापनमा भने कठिनाई छैन ।


क्लिकमान्डु