पाँच तारे होटलमा एनआरएन धमाधम फोहोर गर्दै, पछिपछि कर्मचारीलाई सफा गर्न भ्याइनभ्याइ



काठमाडौं । यतिबेला राजधानीमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन चलिरहेको छ ।

सम्मेलनमा भाग लिन विश्वमा १०८ देशमा रहेका गैर आवासीय नेपालीहरुको उपस्थिती छ । संसारका विभिन्न परिवेशबाट आएका उनीहरु यतिबेला काठमाडौंस्थित  पाँच तारे होटल ‘हायात’मा जम्मा भएका छन् ।

विश्वसम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्दै छ । विश्वमा रहेका नेपालीहरु आएको समयमा सामान्यतया जो कोहिले पनि सोच्दा हुन् की विश्वमा रहेका नेपाली कस्ता होलान ? आनीबानी कस्तो होला ? आचरण कस्तो होला ?

विकसित देशमा बसेका उनीहरुको व्यवहार पनि त्यही किसिमको  होला, सुसभ्य होलान भन्ठान्छौं । विदेशमा बसेर सामाजिक सञ्जालमा नेपालमा त सिस्टमै छैन भन्दै गाली वर्षाउने उनीहरु निकै सभ्य होलान, विदेशमा सिकेको सभ्यता, संस्कार यहाँ पनि देखाउँलान भनेर सोच्नु राम्रै हो ।

यी र यस्तै यावत प्रश्न जो कोहीको मनमा आउनु स्वभाविक पनि हो ।  प्रश्न तपाईको मनमा उब्जिएको छ भने त्यसको जवाफ भनेको बर्मा गए कर्मसँगै भने जस्तै छ ।

तर त्यहाँ माहोल कस्तो भने, विश्वमा जहाँ रहे पनि बिग्रेको नेपाली कहिल्यै सुध्रिन्न भने जस्तै छ । विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीको आनीबानी सुध्रेको देखिएन ।

निर्वाचन, सभा समारोहमा फोहोर गर्ने नेपालीको आमबानी नै हो, अपवाद बाहेक । र, यो बानी एनआरएनहरुमा पनि उत्तिकै देखिएको छ ।

सम्मेलनमा निकै तामझाम छ । तामझाम आगामी कार्यसमिति चयनका लागि हो । निर्वाचनको माहोल हेर्दा यस्तो लाग्छ, यो क्याम्पसमा हुने उछृंखल तन्नेरी ठिटाको बानी जस्तो  । उम्मेदवार दाइ र दिदीका लागि मरिमेट्ने र त्यसका लागि जे पायो त्यही गर्ने लगाम नभएका ठिटाको पारा जस्तै छ । ठ्याक्कै ।

कोही मादल बजाउँदै हिँडेका छन्, कोही जिन्दावादको नाराबाजी गरिरहेका छन् । कोही अहिले विजयी भयौ भन्दै होहल्ला गर्दै हिँडेका छन् ।

पाँच तारे होटलको महंगो खाना टन्न खाने, साँझ परेपछि मस्त दारुले पेट भर्ने, सभ्य देखिने बाहनामा ज्यानमा टाइसुट भिरेको छ, टिलिक्क टल्कने जुत्ता पनि छ । तर बानी, उफ्फ । उही…

हो–हल्ला पनि कतिसम्म भने माइकै बोकेर हिँडेका छन् । आफ्ना उम्मेदवारका फोटो टाँसिएका ब्रोसर जता मन लायो त्यतै फालेका छन् । सभ्य आचरण कुनैमा पनि कतैबाट पनि देखिन्न ।

यो पाँचतारे होटलमा आएपछि मात्रै भएको भने होइन, यसपटक त विमानबाट ओर्लने वित्तिकै सुरु भएको हो । विमानस्थलको अध्यागमनमा कर्मचारीलाई जथाभावी बोल्दै, सिसा नै फुटाएको अस्तीका दिन मात्रै हो । रक्सी पिएर विमानस्थलमा ताण्डव मच्चाएको पनि धेरै भएको छैन ।

सम्मेलनमा भाग लिन आएका नेपाली मूलका अष्ट्रेलियिन नागरिक रमेशकुमार थापालाई सिसा फुटाएको, कर्मचारीसँग अभद्र व्यवहार गरेकाले जरिवानास्वरुप ५० हजार रुपैयाँ, उक्त कार्य गर्न उस्काउने एकजना साथीलाई २५ हजार रुपैयाँ र २ जना थपलाई चेतावनी दिएर छाड्नु परेको थियो । यो जति उनीहरूका लागि र कैयन नेपालीका लागि यो जत्ति लज्जाको विषय के हुन सक्छ ?

विमानस्थलमा खोस्टो दम्भ देखाउने उनीहरु जस्तै विमानस्थलबाट ५ किलोमिटर जति टाढाको पाँचतारे होटलमा रहेका एनआरएनहरु पनि देखियो ।

विदेशमा चकलेट खाए पनि खोस्टो कोटको खल्तीमा राखेर डस्टबिनमा हाल्ने, जहाँपायो त्यही नथुक्ने, एकदमै अनुशासित जीवनशैली बिताउने उनीहरु नेपालको जमिन टेक्ने वित्तिकै मानसपटलमा भूँइचालो गएर असन्तुलित भए झैं गर्छन ।

कर्मचारीलाई हेप्छन, संसारमा म जत्तिको जान्ने सुन्ने, विश्व बुझेको कोही छैन भन्ठान्छन्, उनीहरूको तुजुक पनि यसैमा केन्द्रीत देखिन्छ । मै हुँ भन्ने खोक्रो आडम्बरको भ्रममा छाती फुलाएर हिँड्छन् । कम्तीमा सम्मेलन अघिपछि देखाएको उनीहरुको आनीबानी त्यस्तै छ ।

बुधबार हायात होटलको सभाहलमा निर्वाचन उमेद्वारहरुले आफन्त, शुभचिन्तक सबै बोलाएका छन् । आफ्नो प्यानल तथा आफू कार्यरत देशबाट आएकाले मात्रै होइन भोट माग्नलाई भन्दै पैसा तिरेर युवती नै परिचालन गरेका छन् ।

त्यो दृश्य निकै अशोभनीय छ ।

केही अग्रज तथा विदेशमा रहेका पुराना नेपालीहरुले यो दृश्यलाई निकै भद्दाको संज्ञा नै दिए ।

बुधबारै एक उमेद्वारको भोट माग्न हातमा पर्चा बोकेकी एक युवतीलाई मतदाताले पर्चा हातमा लिँदै सोधे, ‘ए साँची उम्मेदवार चै कुन देशबाट रे ?

‘हामीलाई यो ब्रोसर दिनु भनेको छ, बाँकी हामी जान्दैनौं’ युवतीले जवाफ फर्काइन् ।

निर्वाचनको समयमा प्रचार–प्रसार स्वभाविक हो । ब्रोसरहरु, पम्प्लेटहरु पनि वितरण गरिनु अस्वभाविक होइन । तर, जथाभावी फोहोर गर्दै ब्रोसर बाँड्ने काम कम्तीमा ‘सिस्टममा चल्ने’ भनिने एनआरएनहरुलाई सुहाएको पटक्कै देखिएन् ।

दृश्य कस्तो भने एनआरएनहरुले होटल परिसरमा ब्रोसर र पम्प्लेट फाल्दै फोहोर गर्दै जाने, पछिपछि होटलका कर्मचारी सफा गर्दै जाने ।

एनआरएनहरुले गर्ने फोहोर उठाउनका लागि होटलले कर्मचारी नै व्यवस्था गरेको छ । एनआरएनले प्रचार सामग्री जथाभावी फाल्न थालेपछि कर्मचारीहरुलाई सफा गर्न भ्याइनभ्याइ नै छ ।

सामान्य तथा विश्वभर फैलिएका नेपालीहरुले प्रचारको शैली पनि नयाँ अपनाए होलान, फोहोर मैला नगर्लान, होहल्लामा एनआरएनएको निर्वाचनमा नहोला भन्ने सोची रहनु भएको छ भने तपाईको सोचले मेल खाँदैन् ।

यस्तो लाग्छ, त्यो अवस्था अझै आइपुगेको छैन । 


क्लिकमान्डु