काठमाडौंको बाटो पिच हुन भारतबाट मोदी र चीनबाट सि जिन पिङ नै आउनुपर्ने हो ?



काठमाडौं । वर्षैभरी नेपाली नागरिक धुलो, धुँवा र खाल्डाखुल्डीमा कष्टकर यात्रा गर्नुपरेको विवश अवस्था राजधानी काठमाडौंको नियती जस्तै बनेको छ ।

कुनै विदेशी मुलुकका पाहुना आउने वित्तिकै राजधानीको सडक एकाएक चिल्लो बन्न पुग्छ ।

विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं उत्रिँदा उनी हिँड्ने प्रमुख सडक मार्ग रातारात कालोपत्रे भएको थियो । त्यस्तै, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनको क्रममा समेत राजधानीका सडक रातारात कालेपत्रे भए ।

यतिसम्म कि चाबहिलदेखि गोकर्णसम्मको सडक खण्डमा पाहुनाहरु हिँड्ने कार्यक्रम भएपछि रातारात पिच गर्न थालियो । तर समयमै काम सम्पन्न नहुँदा पाहुनाहरुको उक्त तालिका रद्द गरियो ।

पाहुनाका लागि तयार पार्न रातारात पिच गरिएको सडक उनीहरुको कार्यक्रम रद्द भएसँगै सडक पिच गर्ने काम पनि बन्द भयो । जुन २ वर्षपछि हालसम्म पनि बनेको छैन ।

यस्तै, बिमिस्टेक सम्मेलनका क्रममा समेत राजधानीमा त्यस्तै दृश्य देखियो । विदेशी आउने वित्तिकै रातारात सडक टाँलिने र अरु समयमा चुप लागेर बस्ने सडक विभाग फेरि यतिबेला तातिएको छ ।

लामो समयपछि एक दिने पाहुनाका रुपमा नेपाल भित्रिन लागेका चिनियाँ राष्ट्रपति सि जिङ पिङको स्वागातार्थ भन्दै राजधानीका सडक रातारात मर्मत हुन थालेका छन् ।

विभागका अनुसार बिहीबार रातिसम्म मात्रै राजधानीको ६० किलोमिटिर सडक मर्मत गरिसकिएको छ । अझै केही स्थानमा शुक्रबार र शनिबार रातिसमेत हतार हतारमा कालोपत्रे गर्ने तयारी गरिएको छ ।

हतार हतारमा कम अलकत्र हालिएको सामग्री प्रयोग गर्दा सडकको गुणस्तर नहुने र एकाध दिन मात्रै टिक्ने जानकारहरुको भनाइ छ ।

अरु बेला निधाएर बस्ने सडक विभाग पाहुना आउने भन्ने वित्तिकै तात्ने प्रवृतिले गुणस्तरीय निर्माणको अपेक्षामा रहेका नेपाली नागरिकलाई समेत पीडा दिएको छ ।

जानकारका अनुसार त्रिभुवन विमानस्थलको मूख्य गेटदेखि चिनियाँ राष्ट्रपति सि बस्ने होटल सोल्टीसम्म रातारात कालोपत्रमाथि कालोपत्र थपिएको छ । यस्तै, माइतिघरदेखि राष्ट्रपति निवाससम्म पुग्ने सडकमा समेत रातारात कालोपत्रे थपिएको छ ।

रातारात गरिएका त्यस्ता कालोपत्रे सडकमा एकै प्रकारको अलकत्रा समेत प्रयोग नभएको सहजै देख्न सकिन्छ ।


क्लिकमान्डु