एटीएम ह्याक प्रकरण : नेप्सले भन्यो- हार्डवेयर परिवर्तन हुँदैछ, अझै केही लाग्छ



काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाल र भारतका एटीएम बुथमा पुगी नेपाली बैंकका खाताबाट रकम ठगी गरेपछि यतिबेला नेपाली बैंकहरु सतर्क भएका छन् ।
यतिबेला भनेको समयमा एटीएमबाट पैसा पाइँदैन भने इन्टर बैंकिङ कारोबार समेत बन्द भएको छ । जसको मार उपभोक्तामा परेको छ ।

यसैबीच नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले एक सूचना जारी गर्दैै सो विषयमा अध्ययन अनुसन्धान भइरहेकाले पूर्ववत तरिकाले सेवा सञ्चालनका लागि केही समय लाग्ने जानकारी दिएको छ ।

सूचनामा भनिएको छ, ‘विदेशबाट विशेषज्ञहरु बोलाइ फरेन्सिक चेक जाँच गर्ने कार्य गरिरहेको कारणले हाल सञ्चालनमा रहेको सिस्टमलाई आंशिक रुपमा मात्रै सञ्चालन गरिएको छ, त्यस्तै, यस कम्पनीको नयाा हार्डवेयर जडान गर्ने क्रममा रहेको तथा सो कार्य पश्चात विदेशी विशेषत्र र भिजाको समेत सहमति लिनुपर्ने भएकाले खातावालाको रकमको सुरक्षालाई समेत ध्यानमा राखी नयाँ हार्डवेयर सञ्चालन नआउँदासम्मका लागि हाल सम्बन्धित बैंकको कार्ड सम्बन्धित बैंकको एटीएम तथा पीओएस मेसिनहरुमा मात्रै सञ्चालन गर्न सकिन्छ ।’

त्यस्तै, भारतबाहेक तेस्रो मुलुकमा कार्ड प्रयोग गर्ने ग्राहक महानुभावहरुलाई नेपाल राष्ट्र बैंकले हालै गरेको वैकल्पिक व्यवस्था अनुसार सुविधा लिन सम्बन्धित बैंकमा सम्पर्क राख्न भनिएको छ ।


क्लिकमान्डु