सूचना प्रविधि र डिजिटल बैंकिङ्गले बढाएको जोखिम, कसरी अपनाउने सावधानी ?: बीएन घर्तीको लेख
गत शनिबार कार्ड फ्रड सम्बन्धी एउटा घटना घट्यो । उक्त घटनामा छिमेकी देश चीनका नागरिकहरु संलग्न भएर करोडौंको ठगी गरेको कुरा समाचारमा आएको छ । नेपाल राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले प्रदिवेदन दिएपछि तथ्यगत कुरा पनि प्रष्ट हुने अपेक्षा गर्न सकिन्छ ।
अध्ययन र अनुसन्धान मै रहेको बिषय भएकाले यस सम्बन्धमा छलफल गरिनु उपयुक्त हुँदैन । त्यसैले, अहिले संचालन जोखिम व्यवस्थापनका लागि देखिएका केही चुनौतिका बारेमा यहाँ चर्चा गरिनेछ ।
नेपालमा मात्र होइन, विश्वमा नै सूचना प्रविधि र डिजिटल बैंकिङले जोखिम व्यवस्थापन गर्ने कार्यलाई थप चुनौतिपूर्ण बनाइदिएको छ । ती बिषयमा नै यहाँ केन्द्रित हुन खोजिएको छ ।
के विकसित देशमा कार्ड फ्रड नै भएका छैनन् ?
विकसित देशमा झन् डरलाग्दोरुपमा यस्ता कार्ड फ्रड सम्बन्धी घटना घटेका छन् । त्यहाँपनि प्रविधिमा आधारित ठगी र वित्तीय अपराधका घटना घटेका छन् ।
यहाँ एउटा उदाहरण लिएर हेरौं । सन् २०१८ मा यूरोपस्थित एउटा देशको बैंकहरुमा करिब १ अर्व २३ करोड जति युरोको प्रविधिमा आधारित वित्तीय अपराधका घटना भएका थिए । अर्थात् झण्डै १ खर्ब ६० अर्ब नेपाली रुपैंयाँ बराबरको घटना घटेको थियो । उक्त रकमलाई हाम्रो देशको बार्षिक बजेटसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशत हुन आउँछ ।
त्यसरी रकम गुमाएको मात्र होइन, त्यहाँका बैंकले वित्तीय अपराधका प्रयासलाई विफल पनि बनाएका छन् । ती बैंकका सयन्त्रले सन् २०१८ मा झण्डै करिब १ अर्ब ६५ करोड युरो जति रकमलाई जोगाएको थियो । त्यसरी वित्तीय अपराधका घटना घट्नबाट रोक्न सक्नुलाई ती बैंकहरु जोखिम व्यवस्थापनमा पाएको सफलता मान्दछन् ।
उक्त प्रविधिमा आधारित वित्तीय अपराधमध्ये करिब ६० प्रतिशत घटना त कार्ड फ्रडसँगै सम्बन्धित थिए । करिब ३० प्रतिशत ‘अथोराइज्ड पुस् पेमेण्ट’ सँग सम्बन्धित थिए । बाँकी घटना इन्टरनेट र मोवाइल बैंकिङ्सँग र चेक फ्रडसँग सम्बन्धित थिए । उक्त देशमा कार्डबाट ठगी गर्दा अमेरिका, अष्ट्रेलिया, जापान आदि देशबाट जारी भएका कार्ड पनि प्रयोग भएका थिए ।
त्यसैले कार्डबाट हुने वित्तीय अपराधका घटना डरलाग्दोरुपले विश्वभरी नै बढिरहेको छ । नेपालमा पनि यसभन्दा अगाडि कार्डसँग सम्बन्धित घटना घटेका छन् । ती घटना एउटा बैंक विशेषसंग हुने गर्दथ्यो । तर, यसपटक भने धेरै बैंकहरुलाई छोयो ।
उक्त देशमा घटना विवरण संकलन र विश्लेषण गर्ने छुट्टै संस्था छ । बैक, वित्तीय संस्था, वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाले उक्त संस्थाको सदस्यता लिएका हुन्छन् । अहिले नै २५० भन्दा बढी फर्मले उक्त संस्थाको सदस्यता लिएका छन् ।
ती फर्महरुले कुनै वित्तीय अपराध वा संचालन जोखिमसँग सम्बन्धित घटना घटेमा उक्त संस्थालाई जानकारी गराउँदछन् । माथिको विवरण पनि त्यसरी तयार पारी ‘निड् टु नो’ आधारमा प्रकाशमा ल्याइएको हो ।
विश्वमै कार्डबाट हुने बित्तीय अपराध चुनौतिपूर्ण हुँदै गएको छ । हामीकहाँ पनि यस्ले चुनौति थप्न शुरु गरेको छ । र, भोलिका दिनमा ‘अथोराइज्ड पुस् पेमेण्ट’ र अन्लाइन बैंकिङ पनि चुनौति दिँदै जान्छ नै भन्ने कुरामा अब दुबिधा नराखे हुने संकेत मिलिसकेको छ ।
सन् २०१८ मा यूरोपस्थित एउटा देशको बैंकहरुमा करिब १ अर्व २३ करोड जति युरोको प्रविधिमा आधारित वित्तीय अपराधका घटना भएका थिए । अर्थात् झण्डै १ खर्ब ६० अर्ब नेपाली रुपैंयाँ बराबरको घटना घटेको थियो । उक्त रकमलाई हाम्रो देशको बार्षिक बजेटसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशत हुन आउँछ ।
यसरी हेर्दा नेपालमा मात्र होइन बिकसित देशमा पनि प्रबिधिमा आधारित जोखिम घटना बढ्दै गएका छन् । अत्याधि रुपमा घट्दै गइरहेका घटनाहरुले उक्त तथ्यलाई थप प्रस्ट्याउँछन् पनि ।
अथोराइज्ड पुस् पेमेण्ट र सोसियल इन्जिनियरिङ्
वित्तीय अपराधमा लागेका व्यक्तिहरु आधिकारिक व्यक्तिहरु जस्तै भएर ग्राहकको सम्पर्कमा पुग्छन् । ग्राहकलाई फकाउँछन् र तिनीहरुको विश्वास् जित्छन् ।
खाता अध्याबधिक गर्ने वा रकम फिर्ता गर्ने आदि बहाना बनाएर पासवर्ड वा यस्तै महत्वपूर्ण सूचना फुत्काउन सफल हुन्छन् । तिनीहरुले बैंकको कर्मचारी वा सरकारी कार्यालयको अधिकारी वा प्रहरी बनेर सम्पर्क गर्न सक्छन् । यसो गर्दा फोन गरेर, इमेल वा मेसेज पठाएर नजिक हुन खोज्दछन् ।
अनि ग्राहकको खाताबाट ती व्यक्तिहरुको आफ्नै वा आफु वास्तविक धनी भएको खातामा रकम ट्रान्सफर गर्न गराउन सफल हुन्छन् । ग्राहकले आफैं मोवाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग (रिमोट बैंकिङ्ग ) बाट कारोवार गर्न सक्छन् । अथवा, बैंकलाई निर्देशन पनि दिन सक्छन् । यसरी ग्राहक ठगिन पुग्छन् ।
अन्जानबस् प्रभावित भएर ठगहरुसँग नजिक हुन पुग्ने र ग्राहक आफैंले कारोबार गर्ने गराउने हुनाले यस्लाई अथोराइज्ड पुस् पेमेण्ट भन्ने गरिएको हो ।
त्यस्तैगरी ठगहरु सामाजिक र भावानात्मकरुपमा ग्राहकसंग नजिकको सम्बन्ध बनाएर ठग्ने हुनाले यस्तो क्रियाकलापलाई ‘सोसियल इन्जिनियरिङ’ भनिन्छ । यस किसिमका घटना विश्वभरी नै घट्दै गइरहेका छन् । उदाहरणका लागि त्यस किसिमका केही घटनाहरु तल उल्लेख गरिएको छः
सामान बेच्ने नाटक गरेर ठगी
ठगी गर्नेहरुले सस्तोमा बस्तु तथा सेवा बेच्ने नाटक गर्दछन् । फाइदा हुन्छ भन्ने लागेपछि मान्छेमा पनि लोभ पलाउछ । ठगहरुले विश्वास जित्नको लागि साना साना बस्तु साच्चै बेचेर पनि देखाउन सक्छन् । विश्वास भइसकेपछि पीडितहरुबाट पेश्कीस्वरुप पैसा ट्रान्सफर गराउन सफल हुन्छन् ।
कान्तिपुरमा छापिएको अपत्यारिलो ब्याजदरमा ऋण दिने विज्ञापनले राष्ट्र बैंकमा खैलाबैला मच्चायो
तर बिडम्ना, पीडितकहाँ त्यस्ता बस्तु तथा सेवा कहिल्यै आइपुग्दैनन् ।
नेपालमै केही समयअघि एउटा अत्यन्तै चर्चित दैनिक पत्रिकामा बार्षिक ६ प्रतिशत व्याजदरमा ६ अर्ब रुपैंयासम्मको ऋण उपलब्ध गराउन सकिने भनेर विज्ञापन प्रकाशित भयो । त्यसपछि एउटा अनलाइन पत्रिकाले खोजपूर्ण समाचार बनायो ।
उक्त समाचार प्रकाशित भएपछि नेपाल राष्ट्र बैंकले स्वीकृति नलिइकन त्यस्तो कार्य गर्न नपाइने भनेर सूचना नै प्रकाशित गर्यो । त्यसपछि त्यो विज्ञापन गर्ने ठग (सम्भवत) आफैं गायब भयो । उक्त अनलाइन पत्रिकाको खोजपूर्ण समाचारले धेरैलाई बचायो ।
२/४ प्रतिशत बार्षिक व्याजदरमा कर्जा उपलब्ध गराउदछौं भन्दै धेरै नेपालका व्यवसायीहरुलाई पछि लगाइएका घटना पनि थुप्रै सुनिएका छन् । संभवत ठगिए पनि इज्जतमा धक्का लाग्ने र कानुनको अनुपालना नभएकाले हुनसक्ने दण्ड जरीवानाका कारण यस्ता घटना बाहिर ल्याइएको पाइँदैन ।
प्रतिष्ठित व्यक्ति भएको नाटक गरेर ठगी
ठगहरुले आफुलाई प्रतिष्ठित व्यक्ति भएको देखाउँदछन् । सोझासाझालाई ठूलो रकम लगानी गर्ने नाटक गरेर मोहित बनाउँछन् । विदेश लैजाने भनेर आश पनि देखाउँछन् । नक्कली वेभसाइट, नक्कली अफिस, नक्कली पत्राचार आदिको माध्यमबाट साच्चे नै हो भने देखाउछन् । र, ठग्छन् ।
विकसित देशका नागरिकलाई यसरी नै कैयौं रकम ठगेका छन् । अल्पबिकसित देशका नागरिक र संस्थालाई त झन् यिनीहरुले सहजै ठग्न सक्छन् ।
नेपालमा केही समयअघि विभिन्न प्रतिष्ठित व्यक्ति र संस्थाहरुलाई एक जर्मन नागरिकले यस्तै गरी ठगेको समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भए पछि धेरै जोगिए ।
गुड फर पेमेण्टबाट ठगी, नक्कली खाताबाट ठगी, कार्डबाट ठगी स्वीफ्ट ट्रान्सफरबाट वित्तीय अपराध, पदको दुरुपयोगबाट बैंकिङ् कसुर आदि जस्ता ठूला संचालन जोखिमका घटना नेपालमा घटेका छन् ।
प्रेमी-प्रेमिका बनेर ठगी
सामाजिक संजालले एक अर्कासँग नजिक हुन सहज बनाइदिएको छ । नजिकिँदै गएपछि प्रेमको प्रस्ताव राख्छन् । प्रेमी–प्रेमिका भएको नाटक गर्दछन् । अनि नक्कली प्रेमी वा प्रेमिकासँग रकम कुम्ल्याउँछन् । र, भाग्छन् ।
नेपालमा यस्ता खाले घटना अत्याधिकरुपमा घटेका समाचार बाहिर आएका छन् ।
अमेरिका लैजाने भनेर घटेका घटना हुन्की प्रेमिका बनेर होटलमा बोलाएर ठगेका हुन थुप्रै यस्ता घटनाहरु सार्वजनिक भएका छन् ।
अग्रिमरुपमा रकम कुम्ल्याउने नाटक
ठगहरु तपाईलाई यति डलरको वा उति डलरको चिट्ठा परेको छ, पुरस्कार परेको छ भनेर इमेल पठाउने, मेसेज पठाउने र नजिकिने गर्दछन् ।
त्यसपछि कर तिर्नका लागि वा हाकिमलाई खुशी बनाउन दिनका लागि वा प्रकृयामा लैजानका लागि भनेर पेश्कीस्वरुप रकम पठाउन भन्दछन् । पेश्की पाएपछि गायव भैहाल्छन् । यस्ता खाले घटना पनि निकै घटेको सुनिएको छ । एउटा विद्यार्थीसँग लाखौं रुपैंयाँ यसरी नै लुटेको समाचार पनि केही बर्षअघि प्रकाशित भएको थियो ।
भुक्तानी अर्कै खातामा पुर्याउने खेल
समान खरिद गर्ने व्यापारीहरुलाई ठग्न इमेल वा यस्तै किसिमको संचार माध्यम प्रयोग गर्दछन् । र, खाता नं. परिवर्तन भएको वा थप छुट दिइने बहाना बनाई ठगहरुको नियन्त्रण रहेको खातामा रकम पुर्याउने प्रपन्च रच्दछन् ।
सिकारु खरिदकर्ता भए त झन् उनीहरुलाई सजिलो हुन्छ । नेपालमा यस्ता घटना प्रकाशमा आएको थाहा नपाइए पनि विदेशतिर भने अत्याधिक घटेको देखिन्छ ।
प्रमुख कार्यकारी अधिकृत बनेर झुक्याउने
बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत बनेर कर्मचारीलाई गलत खातामा रकम ट्रान्सफर गर्न लगाएर पनि ठगी गर्न सक्दछन् । यस्ता घटना विदेशतिर धेरै नै घटेको पढ्न पाइन्छ । यूरोपको एउटा देशमा करिव डेढ करोड यूरो बराबरको रकम यसरी ठगी गरिएको थियो ।
नेपालमा यसरी नै ठगी गरिएको त्यति सुनिएको छैन । केही वर्षअघि एउटा बैंकमा शाखा प्रबन्धक बनेर ८० लाख रुपैयाँ बराबरको एउटा घटना घटाउन केही ठगहरु सफल भएका थिए । उक्त बैंकले तुरुन्तै थाहा पायो र प्रहरीलाई खबर गर्यो । प्रहरीले करिव ८० प्रतिशत रकमसहित सबै संलग्नलाई पक्राउ गर्न सफल भयो ।
उक्त बैंकको पनि संचालन जोखिम व्यवस्थापनको संयन्त्र नभएको भए तुरुन्तै थाहा पाउँदैन्थ्यो । धेरै पछि मात्र थाहा लाग्न सक्थ्यो । त्यतिबेला रकम प्राप्त गर्न सक्ने संम्भावना न्यून हुन्थ्यो । तर, उक्त बैंकको संयन्त्र जोखिम न्युनिकरण गर्न सफल भयो ।
अपत्यारिलो ब्याजदरमा ५ अर्ब ऋण दिन्छु भन्ने कम्पनीको कार्यालय पुग्दा जे देखियो…
जोखिम व्यवस्थापनका लागि चुनौति दिनसक्ने क्षेत्रहरु
नेपालमा सन् २०१० ताकासम्म पनि त्यति संचालन जोखिमका घटना सुनिँदैन थिए । त्यसपछि एक पछि संचालन जोखिमका घटनाहरु घट्दै जान थालेका छन् ।
यस्ता घटना घट्दै जानुमा बैंक तथा वित्तीय संस्थाको संख्यामा बृद्धि, सूचना प्रविधिमा अत्याधिक निर्भरता, व्यवसाय, शाखा, ग्राहक, प्रडक्ट तथा सेवा आदिमा अत्याधिक बृद्धि, कम अनुभवी कर्मचारीलाई ठूलो जिम्मेवारी, कर्मचारीहरुमा दिवा स्वपना देख्ने प्रवृतिको हावी र सामाजिक अपराधिक क्रियाकलापमा बृद्धि आदि प्रमुख कारणहरु देखिन्छन् ।
गुड फर पेमेण्टबाट ठगी, नक्कली खाताबाट ठगी, कार्डबाट ठगी स्वीफ्ट ट्रान्सफरबाट वित्तीय अपराध, पदको दुरुपयोगबाट बैंकिङ् कसुर आदि जस्ता ठूला संचालन जोखिमका घटना नेपालमा घटेका छन् ।
तर, स्वीफ्ट ट्रान्सफरको घटना बैंककै सयन्त्रले समयमै पत्ता लगाएको थियो । फलस्वरुप, शिघ्ररुपमा जोखिम न्यूनिकरणका कार्यहरु (र्यापिड एक्सन) गर्न सक्यो । र, ठूलो घटना घट्न पाएन ।
आगामी दिनमा सूचना प्रविधिमा आधारित औजार, प्रडक्ट र सेवाको प्रयोगमा झन् बृद्धि हुँदै जान्छ । त्यसले झन् जोखिम बढाउँदै लैजान्छ भन्ने कुरामा कुनै सन्देह छैन ।
खासगरी साइबर आक्रमणको माध्यमबाट तथ्यांकको चोरी हुने वा त्यस्को माध्यमबाट वित्तीय अपराध हुन सक्ने विश्वका घटनाले पनि बताएका छन् । र, अहिले विश्वमै साइबर आक्रमणको माध्यमबाट तथ्यांकको चोरी गरेर वित्तीय अपराध गर्ने घटना बढेका छन् ।
तथ्यांक चोरी भएको घटना
सन् २०१६ मा ठगहरुले अमेरिकाको ‘भोया फाइनान्सियल’ को ‘सब कन्ट्रयाक्टर’ भएको नाटक रचेर फोनबाट पासवर्ड रिसेट गर्न लगाए । भोया फाइनान्सियलका कर्मचारीले पटक पटकको अनुरोधपछि पासवर्ड रिसेट गरिदिए । त्यसपछि ठगहरुले ६,५०० भन्दा बढि ग्राहकका तथ्यांक चोरी गरे ।
वित्तीय अपराध गर्नेहरुले सूचना प्रविधिका प्रणालीलाई खल्बल्याएर त्यसबाट ठगी गर्न थालेका छन् । यो किसिमको अपराध न्युनिकरण गर्न विश्वलाई नै चुनौति बन्दै गएको छ ।
भोया फाइनान्सियल ‘फर्चुन ५००’ पर्न सफल अवकाश सम्बन्धी योजना व्यवस्थापन गर्ने फर्म हो ।
त्यसपछि सन् २०१८ मा अमेरिकाको सिक्योरिटिज एण्ड एक्सचेन्ज कमिशनले भोया फाइनान्सियललाई ग्राहकको तथ्यांक सुरक्षित राख्न नसकेको भन्दै १० लाख युस डलर जरिवाना लगायो । भोया फाइनान्सियलबाट गल्ती भएकै थियो । त्यसैले, कुनै विरोध नजनाई उक्त जरिवाना तीर्न सहमति जनायो ।
बैंकहरु सबै हर हिसाब राख्नका लागि सूचना प्रबिधिमा आधारित कोर बैंकिङ्ग सफ्टवेयरमा निर्भर हुनुको विकल्प छैन । त्यतिमात्र होइन, अन्य विभिन्न कार्य, प्रडक्ट र सेवाका लागि पनि त्यसैमा निर्भर हुनु पर्ने हुन्छ । तर, त्यही सूचना प्रविधिलाई सुरक्षित बनाउनु आजको चुनौति बनेको छ ।
‘मालवेयर’ पठाएर घटाइएको भारतको कसमस बैंक घटना
बैंकले प्रयोग गर्ने सफ्टवेयरमा वित्तीय अपराध गर्नेहरुले ‘मालवेयर’ पठाएर आक्रमण गर्ने क्रियाकलाप बढेर गएको छ । सन् २०१८ मा छिमेकी देश भारतको पुणेस्थित कुसमस बैंकमा त्यसै गरेर करिब ९४ करोड भारु ठगी गर्न वित्तीय अपराधीहरु सफल भएका थिए ।
घटना पनि बडो चाख लाग्दो छ । अगष्ट ११, २०१८ का दिन वित्तीय अपराधीहरुले २८ वटा देशबाट भिजा र रुपये कार्ड प्रयोग गरेर ७८ करोड भारुको घटना घटाएका थिए । उक्त रकम ठग्न एकै दिन १२ हजार कारोबार गरेका थिए । भारतमा त्यसदिन २, ८४१ कारोबारबाट करिब २ करोड ५० लाख भारु ठगेका थिए ।
अझ चाख लाग्दो त के छ भने उनीहरु अगष्ट ११, २०१८ को सफलताले झन् उत्सहित भए । त्यसको २ दिनपछि अगष्ट १३, २०१८ का दिन बैंकको सर्भरमा अर्को मालवेयर पठाए । र, १४ करोड ४२ लाख भारु हङ्कङस्थित एक कम्पनीको नाममा स्वीफ्ट ट्रान्सफर गराउन पनि भ्याए ।
माथि उल्लेखित जस्ता घटनाले वित्तीय अपराध गर्नेहरुले सूचना प्रविधिका प्रणालीलाई खल्बल्याएर त्यसबाट ठगी गर्न थालेका छन् । यो किसिमको अपराध न्युनिकरण गर्न विश्वलाई नै चुनौति बन्दै गएको छ ।
तथ्यांकको चोरी गर्ने वा सूचना प्रविधि प्रणालीलाई खल्बल्याउने मात्र होइन, उक्त प्रणालीलाई नै ध्वस्त पार्ने किसिमले वित्तीय अपराधीहरु लाग्न सक्दछन् ।
त्यसका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा प्राप्तिमा जाँदा गरिने डाटा माइग्रेसनमा चुकियो भने तथ्यांक हराउने जोखिमले पनि सताउन सक्दछ ।
लगानीकर्ताका लागि लगानीमा चाहिने उपयुक्त प्रतिफलका लागि खट्नु बैंक तथा वित्तीय संस्थाको एउटा महत्वपूर्ण कार्य हो । तर, ती सबै कुरालाई दोस्रो प्राथमिकतामा राखेर जोखिम व्यवस्थापनका लागि जुट्नु अपरिहार्य भैसकेको छ ।
सम्पत्ती शुद्धिकरण सम्बन्धी जोखिम
कार्डको माध्यमबाट घटेको घटनामा मनी चेन्जरहरु पनि अनुसन्धानका लागि तानिएका छन् । यस घटनाले सम्पत्ति शुद्धिकरण सम्बन्धी चुनौति पनि उत्तिकै रहेको संकेत गरेको छ ।
जोखिम न्यूनिकरण भएको कार्ड फ्रड घटना
कतिपय घटना ध्यान नपुर्याएका कारण घट्न सक्छन् । जोखिम व्यवस्थापनका लागि आवश्यक संरचना र औंजारहरु नभएर पनि घट्न सक्छन् ।
तर, कतिपय घटना नियन्त्रण भन्दा बाहिर भएका कारण पनि घट्न सक्छन् । कतिपय घटना न्यूनिकरण गर्ने संयन्त्रको व्यवस्था र औजारहरुको प्रयोग गर्दा गर्दै पनि घट्न सक्छन् । माथि उल्लेखित कार्ड फ्रड घटना जोखिम न्यूनिकरणका उपाय अवलम्वन गर्दा गर्दै पनि अपर्याप्त भएर घटेको हुन सक्ने देखिन्छ ।
उक्त दिन शनिवार थियो । शनिवार भने पछि बिदा हुने दिन । उक्त विदाको दिन बैंकसँग जोखिम व्यवस्थापन गर्ने प्रणाली नभएको भए कर्मचारीले थाहा नै पाउन सक्दैन्थे । घटना घटेर पैसा पनि लगि सकेपछि थाहा पाएको भए जोखिम न्यूनिकरण गर्न पनि सकिदैन्थ्यो । ठगी कार्यलाई संलग्नलाई कानूनी दायरामा ल्याउन पनि सकिँदैन्थ्यो ।
जोखिम व्यवस्थापन गर्ने प्रणाली नभएर उक्त घटना घटेको जस्तो लाग्दैन । उक्त कुरा त जोखिम न्यूनिकरण गर्न सफल भएबाट नै प्रष्ट हुन्छ । घटना समय मै जानकारी गराइ जोखिम न्यूनिकरण गर्न सफल कर्मचारी र सुरक्षाकर्मी पुरिष्कृत हुनका लागि हकदार छन् ।
जोखिम घटना संकलन र विश्लेषण गर्ने संस्थाको स्थापना
नेपाल बैंकर्स संघको पहलमा एनबीआईको स्थापना भयो । यसले अहिले कर्मचारीहरुको ज्ञान बढाउन र सीप बिकास गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेकोछ ।
कर्जा सूचना केन्द्रबाट ऋणीले उपभोग गरेको कर्जा सम्बन्धी विवरण सहजै प्राप्त गर्न सकिन्छ । र, ऋणी कालो सूचीमा भएको नभएको पनि थाहा पाउन सकिन्छ ।
नेपाल क्लियरिङ हाउसको स्थापनाले देशको जुनसुकै कुनाबाट जुनसुकै बैंक तथा वित्तीय संस्थाको चेकको रकम प्राप्त गर्न वा जम्मा गर्नलाई सहज बनाइ दिएको छ ।
अब सूचना प्रविधि र डिजिटल बैंकिङको क्षेत्रमा देखिएका चुनौतिहरुको अध्ययन गर्न, घटना विवरण संकलन तथा विश्लेषण गर्न र जोखिम न्यूनिकरणका उपायहरु अबलम्वन गर्न परामर्श दिनका लागि त्यस्तै किसिमको संस्था स्थापना गर्ने बेला भइसकेको छ ।
सबै बैंक तथा वित्तीय संस्थाहरुले आ-आफ्नै किसिमले जोखिम व्यवस्थापनका संरचनाहरु बनाएकै छन् । तर, बैंक तथा वित्तीय संस्थाहरुबीच गोपनियता कायम गरेर पनि कतिपय विषयमा छलफल गर्न सकिन्छ । संयुक्तरुपमा जोखिम न्यूनिकरण गर्ने औंजारहरुको प्रयोग गर्न पनि सकिन्छ ।
हिँजोआज घटेका घटनाका प्रकृति हिँजोअस्ति घटेका घटनाका भन्दा बेग्लै छन् । तथापि बैंकिङ् उद्योगकै दृष्टिकोणबाट हेर्ने हो भने यस्ता घटना सम्बन्धी विवरण प्राप्त गर्न सक्ने हो भने जोखिम व्यवस्थापनका रणनीति बनाउन सहज भने पक्कै हुन्छ ।
बैंक तथा वित्तीय संस्थाको नाम भने गोप्य राखिनु पर्दछ । विवरण दिँदा उपलब्ध गराउनु हुंदैन । त्यसमा कुनै सन्देह छैन । यो प्रकृतिको संहिता त कर्जा सूचना आदान प्रदान गर्दा लागू भइसकेको छ ।
यस कार्यको पहलका लागि बैंकर्स संघ नै उपयुक्त थलो हो । यस्तो संस्थाको स्थापनाका लागि नेपाल राष्ट्र बैंकले पनि नीतिगत व्यवस्था गरेर पनि गर्न सक्दछ । कम्तीमा यस्तो किसिमको संस्था आवश्यक्ता भएको नभएको अध्ययन सम्मको थालनी गनुपर्ने बेला त भइसकेको छ ।
तर, यस्तो संस्थामा बैंक तथा वित्तीय संस्थाहरु मात्र समेटिएर पुग्दैन । कम्तीमा सम्पत्ति शुद्धिकरण निवारण ऐनमा सूचक संस्था भनेर उल्लेख गरिएकालाई समेट्न सके उपयुक्त हुन्छ ।
बैंक तथा वित्तीय संस्थाहरुले जोखिम व्यवस्थापनका लागि झन् बलियो प्रणालीगत संरचना बनाउनेछन् । अझ प्रभावकारी औंजारहरुको प्रयोग गर्ने छन् ।
जोखिम व्यवस्थापनका लागि कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि थप कार्य गर्नेछन् । र, नेपाली बैंकिङ्ग उद्योगमा जोखिम घटनाहरु घट्न कमी आउँदै जानेछ । हामीले यही आशा गरौं, यही विश्वास गरौं ।
(लेखक घर्ती बैंकिङ्ग परामर्शदाता हुन्)