मर्जरमा किन आकर्षित भएनन् बीमा कम्पनी ?



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले २०७६ बैशाख १५ गते बीमा कम्मनीहरु गाभ्ने/गाभिने सम्बन्धी निर्देशिका ल्यायो ।

समितिले मर्जर सम्बन्धी निर्देशिका ल्याएपछि बीमा कम्पनीहरु मर्जरमा आकर्षित हुन्छन् भन्ने अपेक्षा पनि थियो ।

तर, निर्देशिका आएका ३ महिना बितिसक्दा पनि बीमा क्षेत्रमा मर्जरको कुनै चहलपहल छैन ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विबेक झाका अनुसार अहिलेसम्म आफ्नो कम्पनीले मर्जरको विषयमा छलफल नगरेको बताउँछन् ।

‘नेपाल लाइफले मेरो जानकारीमा आउने गरी मर्जरको कुनैपनि छलफल गरेको छैन,’ झाले क्लिकमाण्डूसँग भने ।

‘हामीले मर्जरको निर्देशिका ल्याउँदासम्म धेरै कम्पनीले पुँजी पुर्याएका थिएनन्, पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई तोकिएको पुँजी पुर्याउन मर्जरको ढोका खोलिदियौं,’ चापागाईंले भने, ‘तर, बीमा कम्पनीहरु त धमाधम बोनस र हकप्रद सेयर गरेर पुँजी पुर्याउनतर्फ लागे ।’

बीमा समितिले भर्खरमात्रै मर्जरको निर्देशिका ल्याएकाले कम्पनीहरुले राम्रोसँग आन्तरिक छलफल पनि गर्न नपाएकाले मर्जरको चहलपहल नदेखिएको हुनसक्ने उनको भनाई छ ।

‘नीति आउनेवित्तिकै परिणाम देखिँदैन, मर्जरको नीतिमा पहिले कम्पनीभित्र आन्तरिक छलफल हुन्छ, त्यसपछि अरुसँग कुराकानी गर्ने हो,’ झाले भने, ‘मेरो बिचारमा बजेट, आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको शुरु भएकाले अहिलेसम्म कम्पनीहरुले राम्रोसँग आन्तरिक छलफल पनि गर्न पाएका छैनन् ।’

१३ वटा कम्पनी थपेपछि बीमा समितिले ल्यायो मर्जर निर्देशिका, छुटको बोनससँगै फोर्स मर्जरको समेत व्यवस्था

अहिले नै बीमा कम्पनीहरु किन मर्जरमा गएनन् भनेर प्रश्न गर्नु धेरै छिटो (टू अर्ली) भएको उनको भनाई छ ।

त्यस्तै एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ पनि मर्जरका विषयमा छलफल नभएको बताउँछन् ।

‘हामीले कसैसँग पनि मर्जरका लागि कुरा गरेका छैनौं, न त हामीसँग नै कसैले मर्जरका लागि कुरा गरेका छन्,’ सीइओ श्रेष्ठले भने ।
मर्जर आवश्यक हुने संस्थाहरु मर्जरमा जानसक्ने बाटो खुल्ला भएकाले आगामी दिनमा यसको रिजल्ट देखिने उनको भनाई छ ।

‘निर्जीबन बीमा कम्पनीमाचाहीँ मैले पनि गाइँगुईं मर्जरको हल्ला सुनेको छु,’ श्रेष्ठले भने, ‘जीबन बीमा कम्पनीमा सुनेको छैन ।’

त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे पनि मर्जरकाे कुनैपनि छलफल नभएको बताउँछन् ।

“हामी हकप्रद सेयर जारी गरेर ताेकेकाे चुक्ता पुँजी पुर्याउँदै छौं, तत्काल मर्जरमा याेजना छैन,” पाण्डेले भने, “त्यसैले मर्जरकाे छलफल पनि गरेका छैनौं ।”

अहिले अधिकांश जिबन बीमा कम्पनीको व्यवसाय बढेकाले कम्पनीहरु मर्जरमा जान अाकर्षित नभएको उनलेे बताए ।

बीमा समितिले स्वेच्छिक मर्जरकाे नीति ल्याएको थियो । मर्जरमा जाने संस्थालाई विभिन्न सहुलित पनि दिएको थियो ।

‘बीमा कम्पनीहरु पनि मर्जरमा जाउन् भनेर मर्जर सम्बन्धी निर्देशिका ल्याएका थियौं’ समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले क्लिकमाण्डूसँग भने, ‘अहिलेसम्म यो नीतिले बीमा कम्पनीहरुलाई आकर्षित गरेको देखिँदैन ।’

तोकिएको चुक्ता पुँजी पुर्याउन कठिन भएका कम्पनीहरुलाई पुँजी पुर्याउनका लागि मर्जरको ढोका खोलिदिएको उनको भनाई छ ।

‘हामीले मर्जरको निर्देशिका ल्याउँदासम्म धेरै कम्पनीले पुँजी पुर्याएका थिएनन्, पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई तोकिएको पुँजी पुर्याउन मर्जरको ढोका खोलिदियौं,’ चापागाईंले भने, ‘तर, बीमा कम्पनीहरु त धमाधम बोनस र हकप्रद सेयर गरेर पुँजी पुर्याउनतर्फ लागे ।’

अहिले बीमा समितिले स्वेच्छिक मर्जरको नीति ल्याएकाले आफूहरुले केही नभन्ने उनले जानकारी दिए ।

‘आजका दिनमा हाम्रो कन्सर्न भनेको चुक्ता पुँजी हो,’ उनले भने ।

आगामी दिनमा समितिले मर्जरको नीतिलाई अघि बढाउँछ भनेर अहिले कम्पनीहरुलाई सचेत गराईएको उनको भनाई छ ।

‘अब बीमा समितिले विस्तारै मर्जरको नीति लिन्छ भन्ने प्रष्ट संकेत दिएका छौं,’ उनले भने, ‘पहिलो चरणमा क्रश होल्डिङ भएका संस्थाहरुलाई मर्जरमा जान दबाब दिन्छौं ।’

चापागाईं अध्यक्ष भएर आएपछि बीमा समितिले १० वटा जीबन बीमा र ३ वटा निर्जीबन बीमा गरी १३ वटा कम्पनीलाई लाइसेन्स दिएको थियो ।

मर्जर गराउनु थियो भने लाइसेन्स किन दिएको ? भन्दै सरोकारवालाहरुले अध्यक्ष चापागाईंलाई प्रश्न गर्ने गरेका छन् ।


पुष्प दुलाल