युएस बंगला विमानका ७ जना पीडित परिवारद्वारा २ अर्ब क्षतिपूर्ति दावीसहित मुद्दा दायर



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीहरुका आफन्तले कम्पनी विरुद्ध मुद्दा दर्ता गरेका छन् । उनीहरुले २ अर्ब १० करोड रुपैंया (१९ मिलियन ९० हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी मुद्दा दायर गरेका छन् ।

दुर्घटना भएको १६ महिनासम्म पनि अन्तर्राष्ट्रिय कानून बमोजिम मागदाबी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि बाध्य भई पीडितहरुले न्यायलयमा मुद्दा दायर गरेको जनाएको छन् । दुर्घटनामा मृत्यु भएकी एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले मुद्दा दायर गरेका हुन् ।

वायुयान धनी र सञ्चालकको दायित्वसम्बन्धी अन्तर्राष्ट्रिय कानून बमोजिम क्षतिपूर्ति प्राप्तिका लागि नेपाल पक्ष रहेको रहेको छ । उक्त कानून बमोजिम निर्धारित क्षतिपूर्ति रकम एकमुष्ठ दिलाउने भराउने सम्बन्धी मुद्दा पीडितहरुको तर्फबाट काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको पीडितहरुको प्रमुख कानूनी सल्लाहाकार अधिवक्ता अमृत खरेलले जानकारी दिए ।

दुर्घटनाको सम्बन्धमा जाँचबुझ गर्नका लागि सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको दुर्घटना जाँच आयोग, २०१८ ले आइकाओ अनुसूची १३ को सिद्धान्तहरु समेतको आधारमा दुर्घटनाको कारणबारे अनुसन्धान गरी तयार पारेको अन्तिम प्रतिवेदन अनुसार पीडित यात्रुहरुको ज्यान जाने गरी भएको उक्त युएस–बंगला बीएस–२११ विमान दुर्घटना प्रतिवादी वायुयान धनीर सञ्चालक  युएस–बंगला एयरलाइन्स लिमिटेड र उक्त कम्पनीबाट विमान हवाई उडानका लागि खटिएका कम्पनीको प्रतिनिधि र सेवकको रुपमा कार्यरत प्रमुख चालकको गम्भीर हेलचक्रयाइँ, असावधानी, गल्ती र चरम लापरवाहीका कारण भएको हो भन्ने तथ्यका आधारमा पीडितहरुले क्षतिपूर्ति रकमको विशेषज्ञ मूल्यांकन गराई दाबी गरेका छन् ।

ग्लोबल रिस्क कन्सल्टेन्ट्सले गरेको एक्चुरियल मूल्यांकन प्रतिवेदन समेतको आधारमा बिआरएस नेउपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सले तयार पारेको क्षतिपूर्तिको प्रक्षेपित प्रतिवेदनमा उक्त दुर्घटनाबाट मृतकको परिवारलाई भएको क्षतिबापत निम्न बमोजिम रकम क्षतिपूर्ति निर्धारण गरिएको छ ।

क्षतिपूर्ति रकम निर्धारण गर्नका लागि पीडित परिवारलाई भएको आर्थिक र गैर आर्थिक क्षतिको वर्गीकरण गरी दायित्व निर्धारण गरी दाबी गर्ने अन्तर्राष्ट्रिय परिपाटी अनुरुप नै दावी गरिएको अधिवक्ता अमृत खरेलले बताए ।

उक्त निर्धारित क्षतिपूर्ति रकमका अतिरिक्त मन्ट्रियल महासन्धिको धारा २१ अनुच्छेद १ बमोजिमको १ लाख १३ हजार स्पेशल ड्रइङ राइट्सले हुन आउने रकम र मन्ट्रियल महासन्धिको धारा २२ को अनुच्छेद ६ बमोजिम मुद्दामा लाग्ने अदालती शुल्क एवम् मुद्दा मामिला गर्दा लाग्ने खर्च र त्यसमा लाग्ने ब्याज समेत थप गरी एकमुष्ठ रकम वायुयान धनीरसञ्चालक युएस–बंगला एयरलाइन्स लिमिटेडबाट दिलाउन माग गरिएको छ ।

मन्ट्रियल महासन्धिको धारा २१ को अनुच्छेद २ र वार्सा महासन्धिको धारा २५ को व्यवस्था अनुसार वायुयानको हेलचेक्याइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व वहन गर्नुपर्ने व्यवस्था रहेको छ । मन्ट्रियल महासन्धिको उक्त व्यवस्थको आधारमा नेपालमा अन्तर्राष्ट्रिय वायुयान धनीका विरुद्धमा मुद्दा दायर भएको यो पहिलो पटक हो ।

मन्ट्रियल महासन्धिको धारा १७ को व्यवस्था अनुरुप यात्रुको विमानमा भएको दुर्घटनाबाट मृत्यु भएकोमा धारा ३३ अनुसार क्षतिपूर्ति दावीका गरी वायुयान सञ्चालकरधनीका विरुद्ध वायुयान दर्ता रहेको देशको अदालतमा वा वायुयानको मुख्य व्यवसाय रहेको देशमा वा दुर्घटना भएको विमानको गन्तव्य देशको अदालतमा वा विमानको टिकट खरीद गरेको वायुयानको व्यवसाय रहेको देशमा वा मृतक यात्रुको मुख्य र स्थायी बसोबास रहेको देशको अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था रहेको हुनाले पीडित सातजनाको परिवारले दुर्घटनाग्रस्त फ्लाइटको गन्तव्य देश एवं मृतक यात्रुको मुख्य र स्थायी बसोबास रहेको देशको अदालत भएको आधारमा नेपालकै अधिकारक्षेत्र छनोट गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।


क्लिकमान्डु