विदेशमा पढ्न र भ्रमण गर्न जानेमाथि अझ कडाइ गरिने
काठमाडौं । सरकारले उच्च शिक्षा अध्ययन र भ्रमणका लागि विदेश जाँदा ठूलो धन विदेशिएने क्रमलाई लक्षित गर्दै त्यसमा थप कडाइ गर्ने भएको छ ।
बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यसका लागि नियमनका लागि आवश्यक नीति व्यवस्था गरिने उल्लेख गरिएको छ ।
नीतिमा भनिएको छ, ‘अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।’
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा ११ महिनामा अध्ययन र विदेश भ्रमणका लागि ८० अर्ब रुपैयाँ बाहिरिएको उल्लेख गरेको थियो ।
यति ठूलो धनराशी विदेशिएकाले त्यसलाई नियमन गर्नका लागि नीतिगत व्यवस्था गर्ने नीतिमा उल्लेख गरिएको हो ।
हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई डिप्लोमा, एड्भान्स डिप्लोमा तथा भाषा अध्ययनका लागि नो अब्जेक्सन लेटर नदिने निर्णय गरेको थियो ।
उक्त निर्णयको विरुद्धमा सर्वोच्चमा मुद्धा दायर भइसकेको छ । सर्वोच्च अदालतले अन्तिरिम आदेश जारी गरेकाले अहिले उक्त निर्णय कार्यान्वयन भएको छैन् ।
शिक्षा मन्त्रालयले वाणिज्य बैंकहरुलाई समेत अध्ययनका लागि विदेशी विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थामा पैसा नपठाउनका लागि पत्र समेत पठाइसकेको छ ।
त्यस्तै, अघिल्लो वर्ष भ्रमणका लागि विदेश जाने नेपालीहरुले २५ सय अमेरिकी डलरसम्म लिएर जान पाउने व्यवस्था परिवर्तन गर्दै १५ सय अमेरिकी डलर मात्रै लैजान पाउने व्यवस्था गरेको थियो ।
चालु आवको मौद्रिक नीतिले उक्त व्यवस्थालाई अझ कडाइ गर्ने संकेत देखिएको छ ।