अमेरिकाले फेसबुकलाई लगायो अहिलेसम्मकै ठूलो जरिवाना




काठमाडौं । अमेरिकाको संघीय व्यापार आयोगले सामाजिक सञ्जाल फेसबुकलाई अहिलेसम्म कै सबैभन्दा बढी जरिवाना लगाएको छ । बुधबार फेसबुकको गोपनियता पोलिसी कमजोर भएको भन्दै ५ अर्ब अमेरिकी डलरको जरिवाना लगाउने निर्णय गरेको हो ।

यो क्याम्ब्रिज एनालिटिका घोटाला तथा अन्य गोपनियता उल्लंघनको वर्षभरीको जाँचमा आधारित भएर निर्णय सुनाइएको थियो ।

आयोगले कुनै पनि टेक कम्पनीका विरुद्धमा लगाएको यो अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना रकम हो । यो निर्णय लगत्तै फेसबुकको सेयरमा केही घटेको थियो । तर दिनको मध्यतिर १.१ प्रतिशतले भने सेयर उकालो लागेको थियो ।

यस अगाडि सबैभन्दा बढी गोपनियताको पोलिसीसँग सम्बन्धित विषयमा गुगललाई सन् २०१२मा २२.५ मिलियन अमेरिकी डलरको जरिवाना लगाएको थियो ।

फेसबुकले तेस्रो पक्षलाई डाटा बिक्री गरी गोपनियता उल्लंघन गरेको आरोप लागेको छ । फेसबुकका माध्यमबाट हुने विज्ञापनमा प्रयोगकर्ताका मोबाइल नम्बर प्रयोग गरेको र प्रयोगकर्तालाई सफ्टवेयरको गल्तीका कारण भएको भनि झुट बोलेको आरोप लगाइएको छ ।

अर्बौ डलरको जरिवानासँगै फेसबुकले आफ्ना प्रत्येक प्रडक्ट र सेवाको गोपनियताको समीक्षा प्रत्येक पटक गर्नुपर्ने छ ।

एफटीसीले सन् २०१८ को मार्चमा फेसबुकको जाँच सुरु गरेको थियो । रिपोर्टका अनुसार राजनीतिक परामर्श कम्पनी क्याम्ब्रिज एनालिटिकाले ८७ मिलियन फेसबुक प्रयोगकर्ताको प्राधिकरणमार्फत लिएको थियो ।

एजेन्सीहरुलाई फेसबुकले पछिल्लो सम्झौताको उल्लंघन गरेको आशंका थियो । जसका लागि प्रयोगकर्तालाई स्पष्टसँग उनीहरुको सूचना तेस्रो पक्षसँग साटेको बताउनु पर्ने थियो ।

-एजेन्सी


क्लिकमान्डु