बेलायतमा इक्यान टोली र राजदूत सुवेदीबीच भेट, इक्यानसँग सहकार्य गरी अगाडि बढ्न छलफल



काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को टोलीले सोमबार बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर क्षेत्रीसँग भेटघाट गरेको छ ।

इक्यानका महासचिव शेषराज भट्टराईका अनुसार भेटमा नेपाली विद्यार्थी र बेलायती शिक्षाबारे छलफल गरिएको थियो । जसमा राजदूत सुवेदीले आगामी दिनमा इक्यानसँग सहकार्य गरेर शिक्षाका क्षेत्रमा काम गर्ने बताएका थिए ।

उनले भने, ‘आज राजदूतसँग भेट्यौ, जसमा अध्ययनका लागि बेलायत आउने नेपाली विद्यार्थीलाई आइपर्ने अवसर र चूनौतीका बारेमा गम्भीर छलफल भयो, आगामी दिनमा इक्यानसँगको सहकार्यमा अगाडि बढ्ने विषयमा समेत छलफल भयो ।’

ब्रिटिस काउन्सिलको आयोजनामा बेलायत पुगेको इक्यानको टोलीले राजदूतसँग झण्डै डेढ घण्टा छलफल गरेको थियो ।

छलफलमा राजदूत सुवेदीले नेपाली विद्यार्थीहरु बेलायत आउने मात्रै नभइ बेलायतबाट विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययनका लागि कसरी लैजानका लागि इक्यानसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चासो व्यक्त गरेका थिए ।

बेलायत भ्रमणमा रहेको इक्यानको टोलीले त्यहाँ रहेको विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गरी नेपाली विद्यार्थीका लागि सहज वतावरण बनाउने विषयमा छलफल गरिरहेको छ ।

भट्टराईका अनुसार टोलीले आज हर्टफोर्डसायर विश्वविद्यालयमा पुगेर त्यहाँका प्रतिनिधिसँग छलफल गरेको थियो भने भोलि मंगलबार क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ ।

बेलायत उच्च शिक्षाका लागि धेरै विदेशी विद्यार्थी भित्राउने अमेरिकापछि दोस्रो देश हो । जहाँ प्रत्येक वर्ष ५ लाखभन्दा बढी विदेशी विद्यार्थीहरु अध्ययनका लागि जान्छन् ।

नेपाली विद्यार्थीका लागि समेत आकर्षक गन्तव्यका रुपमा रहेको बेलायतमा हाल १ लाख ५० हजारभन्दा बढी नेपाली छन् ।


क्लिकमान्डु