धितोपत्र बोर्डले लाइसेन्स नदिए पनि कमोडिटिज एक्सचेन्जले गराए नयाँ करार, रमिते बन्यो बोर्ड



काठमाडौं । धितोपत्र बोर्डले कारोबार गर्ने लाइसेन्सको अनुमति नदिँदासम्म कमोडिटिज एक्सेचन्जहरुले कारोबार गर्न पाउदैनन् ।

वस्तु विनियम बजार सम्बन्धी ऐन २०७४ अनुसार धितोपत्र बोर्डले लाइसेन्स दिएपछि मात्र कमोडिटिज एक्सचेन्ज संचालन गर्न पाइन्छ ।

सो ऐन कार्यान्वयनमा आउनु अगाडि संचालनमा भएका एक्सचेन्जले पनि अनिवार्य रुपमा अनुमति लिएपछि मात्र कारोबार गर्न पाउँछन् ।

बोर्डले नियमावली जारी गरेपछि एक वर्षअघि नै संचालनमा रहेको कमोडिटिज एक्सचेन्जले नयाँ करार गर्न नपाउने सार्वजनिक सूचना जारी गरेको छ । ऐन कार्यान्वयन हुनु अगाडि संचालनमा रहेका एक्सचेन्जले पुरानो करारलाई सेटलमेन्ट गर्ने बाहेक नयाँ करार गर्न पाउँदैनन् ।

धितोपत्र बोर्डको कमजोर नियमन र सुपरिवेक्षणको फाइदा उठाउँदै केही कमोडिटिज एक्सचेन्जले अवैधानिक तरिकाले नयाँ करार गराएका छन् ।

धितोपत्र बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरी बोर्डले अहिले कसैलाई पनि एक्सचेन्ज संचालनको अनुमति नदिएको हुँदा कारोबार गर्न नपाउने बताउँछन् ।

‘कसैले गरेको रहेछ भने त्यो गैरकानूनी हो,हामीले कारवाही गर्छौ,’ गिरीले क्लिकमाण्डूसँग भने ।

क्लिकमाण्डूलाई प्राप्त कागजमा नेपाल डेरिभेटिव एक्सचेन्ज (एनडेक्स) तथा मर्कन्टाइल एक्सचेन्ज (मेक्स) नेपालले नयाँ करार गरेको भेटिएको छ ।

पहिलेको भन्दा कारोबार घटे पनि सिमित लगानीकर्तासँग कमोडिटिज एक्सचेन्जले करार गराएका हुन् ।

‘बोर्डले गैरकानूनी भनेपनि कमोडिटिज एक्सचेन्जले गर्ने करार रोकिएको छैन, नियमितरुपमा आफुले कमोडिटिज एक्सचेन्जमार्फत कारोबार गरेका छु,’ नाम उल्लेख नगर्ने सत्रमा एक लगानीकर्ताले भने ।

यसरी गैरकानूनी रुपमा भएको करारले भने लगानीकर्ताको लगानीलाई भने जोखिममा पारेको छ ।

विगतमा यसरी हुने करार करार ऐन अनुसार हुने गरेको थियो । अहिले करार ऐन खारेज भएर देवानी संहिता ऐन अनुसार हुने व्यवस्था छ ।

तर, अन्य करारमा कमोडिटिज एक्सचेन्ज मार्फत हुने कारोबार पर्दैन । सो ऐनले व्यवसायलाई नियमन गर्न नसक्ने भएको हुँदा नयाँ ऐन र नियामक तोकिएको हो ।

‘धितोपत्र बोर्डलाई जानकारी भएपनि बोर्डले वास्ता नगर्दा गैरकानूनी रुपमा एक्सचेन्ज मार्फत कारोबार भइरहेको छ,बोर्डले नयाँ कम्पनीको लाइसेन्सपनि दिन सकेन, लाइसेन्स दिएको भए अनुमति नपाउने कम्पनीको कारोबार स्वत बन्द हुनेथियो, जसले गर्दा गैर कानूनी कारोबार गर्नु परेको छ,’ एक लगानीकर्ताले क्लिकमाण्डूसँग भने ।

बोर्डका प्रवक्ता निरज गिरी भने अहिलेसम्म यस्तो खाले कारोबार नभएको दाबी गर्छन् ।

‘हाम्रो जानकारीमा आएको छैन, अब रहेछ भने कारवाहीको दायरामा ल्याउने छौ,’ गिरीले भने ।

गैरकानूनीरुपमा कारोबार गराइरहेको विषयमा कम्पनीको आधिकारिक धारणा लिन सम्पर्क गर्दा मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेस सुरेन्द्रले आफुहरुले पुरानो करारलाई मात्र व्यवस्थित गरेको नयाँ करार नगरेको दाबी गर्छन् ।

‘बोर्डले नयाँ करार नगर्न भनेपछि करारको काम रोकिएको छ, तालिम लगायतका काम हामी व्यस्थ छौ,’ उनले क्लिकमाण्डूसँग भने ।

यद्यपी क्लिकमाण्डूसँग आएका लगानीकर्ताको आधारमा मेक्सले कारोबार नयाँ करार भने गरेको देखिन्छ ।

अर्को एक्सचेन्ज एनडेक्सको सिइओ रबि सिंहलाई मोबाइलमा सम्पर्क र एसएमएस गर्दा कुनै जवाफ दिएनन् । कार्यालयमा सम्पर्क गर्दा समेत फोन उठेन ।


पुष्प दुलाल