कुलेखानी तेस्रो लागत दोब्बर बढी , कुलमानले दिए यस्तो चेतावनी

क्लिकमान्डु २०७६ असार २२ गते १२:१३ मा प्रकाशित

काठमाडौं । सामान्यता १४ मेगावाट क्षमताको आयोजनाको कूल लागत कति होला ? सामान्य रुपमा निजी क्षेत्रका प्रवद्र्धकले उक्त क्षमताको आयोजना बनाउन प्रतिमेगावाट १८ करोडसम्म खर्च गर्ने गर्छन ।

निजी क्षेत्रका ऊर्जा उद्यमीको धारणा यस्तै रहन्छ । त्यस आधारमा हेर्दा १४ मेगावाट क्षमताको आयोजना बनाउन मात्रै करिब २ अर्ब ५२ करोड बराबरको लगानी भए पुग्छ ।
आयोजना बनाउन कति समय लाग्ला ? बढीमा ३ वर्ष । नियमित काम भएको खण्डमा साढे २ वर्षमा पनि आयोजना निर्माण सम्पन्न गर्न सकिन्छ । तर नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो आयोजनाको लागत बढेर कति पुग्यो होला । सामान्य अनुमान गर्नुस् त ? उत्तर आयो । आएन भने हामी तपाईलाई बताइदिन सक्छौ ।

सो आयोजनाको लागत बढेर करिब ५ अर्ब पुगेको छ । दोष नेपाल विद्युत् प्राधिकरणको मात्रै होइन । निर्माण व्यवसायीको चरम लापरवाहीका कारण आयोजनाको लागत दोब्बरले वृद्धि भएको हो । सुरुमा सो आयोजनाको लागत मात्रै २ अर्ब ४३ करोड थियो ।
कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यासकेड परियोजनाको रुपमा मकवानपुरमा निर्माण सम्पन्न हुने चरणमा पुगेको सो आयोजनाको लागत बढाउन निर्माण व्यवसायीले नै अनेकन नाटक गरेको पाइएको छ ।

चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रो मेकानिकल कम्पनी’ को बेइमानीले आयोजना निर्माणमा ढिला भएको हो । यस्तै चिनियाँ कम्पनीको नेपाली साझेदार रहेको गोल्छा अर्गनाइजेशनले पनि काम नगर्दा आयोजनाको समय र लागत दुवै बढ्यो ।

२०६४ चैतमा सुरु भएको १४ मेगावाटको उक्त आयोजना निर्माण लागत हाल बढेर ४ अर्ब ६३ करोड पुगेको छ । अन्तिम लागत कति भयो भन्ने हिसाब निकाल्नै बाँकी छ ।
विसं २०६७ मंसिरसम्म कुल दुई अर्ब ३३ करोड रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने गरि उक्त आयोजना शुरु गरिएको हो ।

पटक–पटक भेरियसनको नाममा म्याद थप्दै लागत मात्रै २ अर्ब भन्दा बढी लगानी थप भएको छ । आयोजना पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने र केही प्राविधिक तयारी बाँकी नै रहेको छ ।

चमेलिया पछि निर्माण लागत बढी लाग्ने आयोजन कुलेखानी तेस्रो हुने भएको छ । तर, नेपालमा औसत प्रतिमेगावाट १८ देखि २० करोड रुपैयाँमा प्रतिमेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

ठेकेदारका कारण उक्त आयोजना निर्माण कार्य ढिला भएको हो । ठेकेदारले सरासर काम गरेको भए अहिले आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जेािडइसकेको हुन्थ्यो । आयोजना सुरुमा २०६८ मंसिरमा सम्पूर्ण निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको संरचना तथा उपकरणको हाल परिक्षण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पटक पटक आयोजना स्थल पुगेका छन् । छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । तर चालु आर्थिक वर्षभित्रैमा आयोजना सम्पन्न हुने अवस्था भने रहेको छैन । एउटा व्यक्ति एउटै आयोजनाका लागि पटक पटक आयोजना स्थल पुग्नु परेको छ ।

आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण १५ दिन भित्र सम्पन्न गर्ने भनिए पनि केही काम अझै बाँकी रहेको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरबाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का तोडी कालोसूचीमा राख्ने चेतावनी दिएका थिए । यो कुरा वैशाख २९ को थियो । आयोजनाको विद्युत् उत्पादन नगरी गरिएको परिक्षण भने सफल भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनको निर्देशन अनुसार नै कार्यकारी निर्देशक घिसिङले आयोजना प्राधिकरणकै जनशक्ति समेत परिचालन गरेका थिए । कुलमानले भनेका थिए ‘अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु’ ।

उनले आक्रोशित हुँदै टेलिफोनमा गोल्छालाई चेतावनी दिएका थिए ‘राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने ? योभन्दा ठूलो अवराध के हुन सक्छ ?’

कम्पनीले विद्युतगृह तथा प्रसार लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरुले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए । प्राधिकरणकै पहलमा थप रकम उपलब्ध भएपछि मजदुरले काम सुरु गरेका थिए ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट असुुल्ने निर्णय प्राधिकरणले गरेको थियो ।
आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो ।

निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ । यसबाट के बुझ्न सकिन्छ भने प्राधिकरणले चाहेर पनि समयमा आयोजना सम्पन्न गर्न नसक्दो रहेछ । किनकी निर्माण व्यवसायीको अनेकन बाहानाका कारण दुःख पाएको आयोजनाको रुपमा कुलेखानी तेस्रो चित्रित भएको छ ।
भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युतगृहमा परीक्षण उत्पादन गरिसकिएकोे सो आयोजनाले जनाएको छ ।

चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र कुलेखानी तेस्रोको निर्माणाधीन विद्युतगृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युत उत्पादन भई काठमाडौंस्थित केन्द्रीय प्रसारणमा जोड्ने तयारी गरेको छ । हाल कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स