नाटाको डिजिटल मार्केटिङ वर्कसप सम्पन्न
काठमाडौं । नेपाल एशोसिएन अफ टूर एण्ड टाभल एजेन्ट्स (नाटा) तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा राजधानीमा एक दिन डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रदेश १– इलाम, धरान, विराटनगर भद्रपुर, प्रदेश ५– बुटवल, पाल्पा, लुम्बिनी, रुपन्देही, भैरहवा, प्रदेश ७– डडेलधुरा, कंचनपुर धनगढीअन्तर्गत कार्यरत कम्पनी र कर्मचारी सहभागी थिए ।
तालिममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले सन् २०३० सम्ममा प्रत्येक देशमा हाल भैरहेको पर्यटक संख्या दोब्बर हुने वल्र्ड टुरिजम अर्गनाइजेशनको आँकलन रहेको बताए ।
उनले भने, ‘हामीले पनि परंपरागत पद्धतीलाई छाडी आधुनिक प्रविधिलाई अपनाउनु आवश्यक छ अन्यथा हामी पछि पर्दछौ ।’ उनले पर्यटन नीतिको पुनरावलोकन भइरहेकाले राज्यले क्रमशः आधुनिक प्रवृधिलाई अंगिकार सुरु गरेको बताए ।
कार्यक्रममा नाटाका अध्यक्ष सीएन पाण्डेले परंपरागत मार्केटिङले पर्यटन व्यवसाय चल्न सम्भव नभएको भन्दै टूर प्याकेजहरुलाई पनि डिजिटलाइज्ड गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा होटल, एयरलाइन्स, टूर अपरेटर लगाएत पर्यटनसँग आवद्ध अन्य संघ संस्थाहरु र विभिन्न नीजि क्षेत्रबाट २६० जना भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता थियो ।