प्रधानमन्त्री केपी ओलीले भने- जहाज त किन्ने तर न पाइलट छन्, न उडाउने ठाउँ नै छ




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायू सेवा निगम ऋणमा डुबेको उल्लेख गर्दै निगमको व्यवस्थापनप्रति कटाक्ष गरेका छन् । नेपाल वायू सेवा निगमको ६१ औं वार्षिक सभामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले व्यवस्थापन चुस्त हुनुपर्ने बताए ।

‘सरकारका सबै संस्था फाइदामा छन, तर निगम मात्रै किन घाटामा गइरहेको छ बुझ्न सकिएको छैन्’ उनले भने ।

कर्मचारीहरुले निगम फाइदामा जानका लागि र भ्रमण वर्ष २०२० का लागि थप जहाजहरु आवश्यक रहेकाले एकैपटक निर्णय गरेर थप जहाजहरु किन्नु पर्ने बताएका थिए ।

जवाफमा ओलीले जहाज हावाका भरमा सरकारले नकिन्ने भन्दै त्यसका लागि निगमको व्यवस्थापन चुस्त हुनुपर्ने बताए । ‘जहाज त किन्ने किन्न समस्या छैन, तर ‘लोजिक’ चाहियो नि’ उनले भने ।

निगम अहिले ३७ अर्ब रुपैयाँ ऋणमा परेको उल्लेख गर्दै उनले सरकारले आवश्यक परे हस्तक्षेप समेत गर्न सक्ने बताए ।

‘मैले सुने, सरकारले ऋण उकास्न निगमलाई पैसा देओस भन्ने रहेछ, तर किन पैसा दिने ? यो वर्ष त पैसा दिउँला तर अर्को वर्ष पनि यही समस्या दोहोरिन्न भन्ने कुनै ग्यारेन्टी छ ?’ उनले प्रश्न गरे ।

ओलीले भने, ‘जहाज किन्यो पाइलट छैनन, वाइड किन्यो गन्तव्य नै छैनन यस्तो किन भइरहेको छ ?’

त्यही जहाज निजी क्षेत्रलाई दिने हो भने फाइदा गर्छ भन्ने निगमले किन गर्न सकेन भन्दै प्रश्न गरेका ओलीले भने, ‘सबैभन्दा पहिले आफ्नो व्यवस्थापन चुस्त बनाउनुहोस, अनि मात्रै थप जहाज किन्न सकिन्छ ।


क्लिकमान्डु