प्रधानमन्त्रीले नेपाल एयरलाइन्सलाई भने- आफै जहाज चलाउन सक्नुहुन्न भने रणनीतिक साझेदारीमा जानुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायूसेवा निगमलाई आफै जहाज चलाउन नसके रणनीतिक साझेदारीमा सुझाव दिएका छन् । नेपाल वायूसेवा निगमको ६१ औं बार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘निगमले जहाज त किन्ने तर पाइलट नभएको, वाइडबडी किन्ने भन्ने तर कहाँ उडाउने, गन्तव्य नै छैन’ प्रधानमन्त्री ओलीले गुनासो गर्दै भने । उनले अहिले ध्वजा बाहक विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लडेर बसेको र वाइडबडी पनि घाटामा गएको भन्दै यसतर्फ व्यवस्थापनलाई सचेत हुन आग्रह गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले निगमलाई अब जापानको ओसाकामा भन्दा पनि नारितामा उडान भर्ने तयारी सुरु गर्न निर्देशन दिएका छन् । निगम प्रभावकारी रुपमा चल्न नसकेको खण्डमा र व्यवस्थापन उपयुक्त नभएको खण्डमा सरकारले जहिले पनि हस्तक्षेप गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरेका छन् ।
फरक प्रसङ्गमा निगमलाई अहिले ३७ अर्ब अहिले दिएपनि चुस्त व्यवस्थापन भएन भने अर्को वर्ष त्यसको के अर्थ हुने भन्दै ओलीले प्रश्न समेत गरेका छन् । यथास्थितीमा निगमलाई पैसा दिन नमिल्ने जानकारी समेत गराएका छन् ।
पर्यटन मन्त्रालयको समेत कार्यभार सम्हालेका ओलीले देशलाई जति जहाज चाहिन्छ त्यति नै किन्ने र सरकार हल्लामा भने नचल्ने बताए । ओलीले भने ‘एक पटक साथीलाई सोधेको, यति धेरै जहाज रै छन भन्या, साथीले भन्यो, छन त छन तर आकाशमा छैनन् । जमिनमा छन र देखिया छन् ।’
उनले फ्रान्स र यूकेमा बजार विस्तार गर्नको लागि छलफल भइरहेको बताए । यूरोपमा ठूलो बजार भएकोले त्यो नेपालको लागि लाभदायक हुने ओलीको भनाई छ । यति बेला नेपालले शतप्रतिशत सुरक्षाको ग्यारेन्टी दिन सक्नुपर्ने ओलीको भनाई छ । यसको लागि आवश्यक नीति निमय पालना गर्न सक्नुपर्ने ओलीले धारणा छ ।
कार्यक्रममा ओलीले बिमान चलाउन निगमले नसकेको खण्डमा नेपाली सेनालाई दिनुपर्छ भन्ने सुुनेको जानकारी गराउँदै भने ‘तर किन दिने, के सेना कवाडी फाल्ने बञ्चरे डाँडा हो ? सेनाप्रतिको विश्वास त रैछ तर किन दिने ? राम्रो भए आफै चलाउनु परो, नराम्रो भए दिन पनि भएन । निगमले राम्रो गर्न नसकेको हो भने के गरी राम्रो बनाउनु पर्छ भन्न सक्नु पर्यो ।’