आइफोन डिजाइन गर्ने जोनीले छाड्ने भए एप्पल, सेयर बजारमा ९ खर्ब घाटा लाग्यो



स्मार्टफोनको दुनियाँमा आइफोनको महत्व कति छ त्यो भनिरहनु पर्ने विषय होइन ।

विश्वका कैयन मोबाइल प्रयोगकर्तालाई आइफोन बोक्ने रहर हुने नै गर्छ । त्यसको कारण हो, आइफोनले दिने सर्भिस र यसको आकर्षक डिजाइन ।

थोरै मात्र टोकिएको स्याउको टुक्रालाई आफ्नो सिम्बोल बनाएको आइफोन बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ त्यति नै राम्रो यसको अपरेटिङ सिस्टम छ ।

अन्य फोनको तुलनामा निकै कम ह्याङ हुने र गोपनीयताका हिसाबले पनि एन्ड्रोइडभन्दा अब्बल मानिने आइफोनका डिजाइनर जोनी आइभले अब भने कम्पनी छाड्ने भएका छन् ।

सन् १९९८ मा जोनीले डिजाइन गरेको आइम्याक

एप्पलको डिजाइनमा मात्रै होइन, कम्पनीको रिभाइवलमा पनि अहम भूमिका निभाएका आइभले एप्पल छाडेर अब आफ्नै डिजाइनिङ कम्पनी सुरु गर्ने तयारी गरेका छन् ।

उनी सन् १९९२ मा एप्पल कम्पनीमा प्रवेश गरेका थिए ।

स्टिभ जब्सको समयमा पनि जोनी एप्पलमा प्रमुख सहयोगीका रुपमा काम गर्दथे । उनले कम्पनी छाड्ने समाचार सञ्चारमाध्यममा आएसँगै कम्पनीको सेयर १ प्रतिशतले कमी अर्थात ९ खर्ब रुपैयाँ मूल्य बराबरको सेयरमा कमी आएको छ ।

जोनीले डिजाइन गरेको सन् २०१५ एप्पल वाच

उनले आइम्याक, आईपोड र आइफोनको डिजाइन गरेका थिए । उनले कम्पनी छाडेर आफ्नै लगानीमा डिजाइनिङ कम्पनी सुरु गर्नेछन ।

जसमा पहिलो क्लाइन्टका रुपमा एप्पल हुने समेत उनले बताएका छन् ।

एप्पल छाड्दै गर्दा उनले आफूले ३० वर्ष एप्पलका विभिन्न प्रोजेक्टमा काम गरेको भन्दै यसबाट आफू निकै खुसी भएको बताए ।

उनी सन् १९९६ मा एप्पल कम्पनीको डिजाइनर प्रमुख बनेका थिए ।

उनले सन् १९९८ मा आइम्याक, सन् २००१ मा आइपोड डिजाइन गरेका थिए   ।

भने सन् २००७ मा आइफोन, सन् २००८ मा म्याकबुक एयर, सन् २०१० मा आइप्याड, सन् २०१५ मा एप्पल वाच र सन् २०१६ मा एयरपोड्सको डिजाइन गरेका थिए ।


क्लिकमान्डु