बैंकहरुलाई मर्जरको अल्टिमेटम दिएर १० दिनका लागि स्वीजरल्याण्ड हिँडे गभर्नर
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जानका लागि अल्टिमेटम दिएर राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल स्वीजरल्याण्डतर्फ हिँडेका छन् ।
गभर्नर डा। नेपाल आज साँझ ७ बजेको फ्लाइटमा स्वीजरल्याण्ड जानका लागि साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पुगिसकेका छन् ।
बासल कमिटि अन बैंकिङ सुपरिभिजनले बैंक तथा वित्तीय संस्थाहरुको सुपरीवेक्षण गर्नका लागि मार्गदर्शन तथा मापदण्ड जारी गर्छ । संसारभरका केन्द्रिय बैंक बासलका सदस्य छन् । बासलले बनाएको मार्गदर्शनका आधारमा केन्द्रिय बैंकले नीति नियम बनाएर कार्यान्वयन गर्ने भएकाले बैंकिङ क्षेत्रका लागि बासल अत्यत्नै महत्वपूर्ण छ ।
बैंकहरुको संख्या घटाउन लागि परेका गभर्नर डा. नेपालले पछिल्लो समय मर्जरका लागि निकै कडा अभिव्यक्ति दिँदै आएका छन् ।
केही समयअघि मौद्रिक नीतिअघि नै लभ पारेर मौद्रिक नीतिपछि बिहे (मर्जर) गर्न निर्देशन दिएका गभर्नर डा। नेपालले बिहीबार बिहान ११ बजे वाणिज्य बैंकका अध्यक्ष तथा सीइओहरुलाई राजधानीको पाँच तारे होटल याक एण्ड यतिमा बोलाएर मौद्रिक नीति अगाडि नै जोडी खोजेर राष्ट्र बैंक समक्ष प्रतिवद्धता बुझाउन निर्देशन दिएका छन् ।
दिउँसो १ बजेसम्म वाणिज्य बैंकका अध्यक्ष र सीइओहरुसँग गभर्नरले छलफल गरेका थिए ।
असार २७-२८ गते मौद्रिक नीति ल्याउने जानकारी दिँदै गभर्नरले बैंकहरुलाई त्यसअघि नै कुन बैंक कुनसँग मर्ज हुने हो प्रतिवद्धता गरेर राष्ट्र बैंकलाई बुझाउन भनेका हुन् ।
गभर्नर नेपाल असार २२ गते फर्कनेछन् ।
गभर्नर विदेशमा हुने भएकाले उनीमाथि दबाब आउने छैन । फर्किए लगत्तै मौद्रिक नीति आउने हुनाले आगामी मौद्रिक नीतिमा गभर्नरले ठूला बैंकहरुको मर्जरसम्बन्धी नीति ल्याउन थप सजिलो हुने भएको छ ।
‘पुँजी बढाउने नीति लिँदा तपाईंहरुमा ठूल्ठूला ठाउँमा धाएर मलाई दबाब दिनुभयो, मैले सामना गरेँ । अहिले पनि दबाब दिनका लागि माथिल्लो निकाय धाए धाउनुहोस् म टसमस हुने छैन,’ गभर्नरले आजको छलफलमा भने ।