एभरेष्ट होटल पुनः सञ्चालनमा आउँदै, माग्यो कर्मचारी



काठमाडौं । नयाँ बानेश्वरस्थित पाँचतारे एभरेष्ट होटल सञ्चालनमा आउने भएको छ । भूकम्पपछि विभिन्न कारणले बन्द भएको होटल केही समयपछि आउने तयारी गरेको छ ।

होटलले सञ्चालनका लागि आवश्यक कर्मचारी समेत माग गरिसकेको छ । होटलले जुलाई २ सम्म आवदेन दिन मिल्ने गरी ७ वटा विभागका लागि कर्मचारी माग गरेको हो ।

भूकम्पबाट क्षतिग्रस्त बनेको होटलको भवनमा अहिले १ अर्ब रुपैयाँ खर्च गरी पुर्नसंरचना समेत गरिएको छ । होटलमा १६० कोठा, एक्जुकेटिभ क्लव रुप, २ वटा रेष्टुराँ, स्वीमिङ पुल, जिम, बार तथा कार्यक्रम गर्नका लागि हलहरु समेत छन् ।

नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेका बेलामा पाँच तारे होटल पुनः सञ्चालनमा आउनु राम्रो संकेत मानिएको छ । अहिले नेपालमा पाँच तारे होटलको संख्या बढ्दो क्रममा छ ।

सन् १९८१ देखि सञ्चालनमा आएको होटेलमा मकबुल अहमद लारीले करिब साढे ३ करोड रुपैयाँ पुँजीमा होटल दर्ता गराएका थिए । मकबुलले होटलको आधा स्वामित्व भतिज मसकुर अहमद दारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए ।

मकबुलको निधनपछि एभरेष्ट होटलको स्वामित्वमा विवाद सुरु भएको थियो ।

छोरा जुब्फर लारीले बुबाको नाममा रहेको सेयर पाउनुपर्ने माग गरेपछि स्वामित्व विवाद सुरु भएको थियो ।

मकबुलको नाममा रहेको सेयर भतिजा मशकुरले कीर्ते गरेर लिएको भन्दै छोरा जुब्फर अहमदले मुद्दा हालेपछि होटल विवाद थियो । सर्वोच्च अदालतले होटलको सेयर स्वामित्व भतिजा मशकुरको नाममा हुने फैसला गरेको थियो ।

त्यतिमात्रै होइन, होटलमा कार्यरत कर्मचारीले समेत सेवा सुविधाको विषयलाई लिएर आन्दोलन गरिरहेका बेलामा भूकम्प गएपछि होटल पूर्ण रुपमा बन्द भएको थियो ।

१० अर्ब लगानी भएको एभरेष्ट होटलमा ३ सयभन्दा बढी कामदार कार्यरत थिए ।


क्लिकमान्डु