बैंकको संख्या घटाउनको लागि ‘फोर्स मर्जर’ कति सम्भव ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैंकहरुको संख्या घटाउनको लागि फोर्स मर्जर समेत गर्न सक्ने चेतावनी दिएका छन् ।

मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले खास गरेर वाणिज्य बैंकहरुको नै संख्या घटोस भन्ने चाहेको छ ।

पछिल्लो डेढवर्षदेखि राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल संख्या घटाउनको लागि लागिरहेका छन् । उनले बैंकका अध्यक्ष तथा संचालकलाई बोलाएर मर्जरमा जानको लागि अनौपचारिक रुपमा दवाव दिएका छन् ।

गभर्नर बाहेक राष्ट्र बैंकका अन्य उच्च अधिकारीले समेत मर्जरमा जानको लागि अनौपचारिक रुपमा दवाव दिइरहेका छन् ।

सोमबार आइबिएन मिडिया रिसर्चले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर नेपालले मर्जरमा नगएमा फोर्स मर्जरमा समेत जान सक्ने चेतावनी दिएका छन् । यसले वित्तीय क्षेत्रमा ठूलो तरंङ ल्याएको छ । राष्ट्र बैंकका अधिकारीहरुको बुझाईमा गभर्नर नेपाल व्यक्तिगत रुपमा १२/१३ वटा ठूला वाणिज्य बैंकमात्र संचालन हुन् भन्ने पक्षमा छन् ।

आफ्नो कार्यकालमा चुक्ता पुँजी चारगुणाले बढाएका नेपालले संख्या समेत घटाउन चाहन्छन् । ५ वर्षे कार्यकाल आगामी चैतमा सकिने भएको हुँदा गभर्नर नेपालले ल्याउने यो अन्तिम मौद्रिक नीति हो । चैतमा गभर्नरमा नियुक्त भएको ५ वर्ष पुग्छ । त्यसपछि राष्ट्र बैंकको नेतृत्व परिवर्तन हुन्छ ।

गभर्नर नेपालले अघिल्लो वर्ष नै संख्या घटाउनको लागि मौद्रिक नीतिमा आवश्यक नीति ल्याउन खोजेको थिए । तर,अर्थमन्त्री सकारात्मक नभएपछि त्यो नीति आएन । यो पटक अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटमा ठूला मर्जरलाई प्रोत्साहन गरिने उल्लेख छ ।
राष्ट्र बैंकका अधिकारीहरुको बुझाईमा अहिले गभर्नर नेपालले दिएको फोर्स मर्जरको अभिव्यक्ति मर्जरमा जानको लागि दवाव सिर्जना गर्नको लागि हो ।

‘मौद्रिक नीति अगाडि केही संस्था मर्जरको लागि सहमति गरुन भन्ने राष्ट्र बैंकको चाहना हो,यसको लागि फोर्स मर्जरको कुरा आएको हो,’राष्ट्र बैंकका अधिकारीले भने ।
राष्ट्र बैंकलाई नियामकिय अधिकार प्रयोग गरेर बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जरको अधिकार छ ।

तर,फोर्स मर्जरको नतिजा भने राम्रो भन्दा नराम्रो हुनसक्ने खतरा बढी छ ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री राष्ट्र बैंकलाई फोर्स मर्जरको अधिकार भएपनि यसले दिने नतिजा राम्रो नहुँन सक्ने बताउँछन् ।

‘संख्या घटाउनको लागि अरु उपाय अपनाउदा राम्रो हुन्छ,फोर्समा जानु त्यती उपयुक्त हुँदैन,’क्षेत्रीले भने ।

मर्जरको लागि राष्ट्र बैंकले प्रोत्साहन दिनुपर्ने र अन्य उपायबाट संख्या घटाउन राम्रो भएपनि फोर्स मर्जर वित्तीय क्षेत्रको लागि ठिक नहुँने बुझाई क्षेत्रीको छ ।


क्लिकमान्डु