सुनको भाउ बढ्नुका ४ कारण, सुन किन्दै हुनुहुन्छ भने केही समय पर्खनुहोस्



काठमाडौं । बजारमा यतिबेला सुनको भाउ अप्रत्याशित रुपमा उकालो लागेको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्म कै सबैभन्दा बढी प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ ।

बुधबार प्रतितोला ६३ हजारमा कारोबार भएको सुनको भाउ बिहीबार ६४ हजार रुपैयाँ पुगेको थियो भने शुक्रबार ६५ हजार रुपैयाँ पुगेको थियो । आइतबार पनि ६५ हजार रुपैयाँमै सुनको कारोबार भइरहेको छ ।

बजारमा सुनको भाउ उकालो लागेसँगै सुन किन्न आउने ग्राहकको संख्या निकै पातलिएको नेपाल सुन चाँदी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले क्लिकमाण्डूलाई बताए ।

उनले भने, ‘बजारमा सुनको भाउ बढेसँगै अहिले गहना किन्न आउने ग्राहक घटेका छन्, यसमा अन्तराष्ट्रिय स्तरमा भइरहेको व्यापार युद्ध र अहिले चाड पर्वको समय नभएकाले पनि ग्राहकको संख्या घटेको हो ।’

उनका अनुसार ३ साता अगाडिसम्म बजारमा सुन किन्न आउनेको संख्या अत्यधिक थियो । यतिसम्म कि व्यापारीहरुले तोकिएको सुन नपुगेर ब्याल्क मार्केटबाट समेत सुन उठाएको सुन्नमा आएको थियो ।

‘अहिले ग्राहकहरु बजारमा सुन्न किन्नभन्दा आफूहरुसँग भएको सुन बिक्रीका लागि आउन थालेका छन्, तर व्यापारीहरुले ती सुन किन्न समेत सकिरहेका छैनन्’ उनले भने ।

बजारमा नेपाल बैंकले हरेक दिन २० केजी सुन उपलब्ध गराउँदै आएको छ । तर अहिले बिक्री ह्वात्तै घटेपछि २० केजी पनि बिक्री हुन सकेको छैन् । यता यसैको फाइदा उठाउँदै ग्राहकहरु आफूसँग भएको सुन बजारमा ल्याउन थालेका छन् ।

किन बढ्यो सुनको भाउ ?
सुनको भाउ नेपालमा मात्रै बढेको होइन । अन्तर्राष्ट्रिय स्तरमा भएको अस्थिरताले नेपालका सुन बजार प्रभावित भएको हो । भारतमा लगातार ४ सातादेखि सुनको भाउ बढेको बढ्यै छ । भारतमा अहिले सुनको भाउ प्रति १० ग्राम ५४ हजार ९९२ रुपैयाँ पुगेको छ ।

सुनको भाउ यसरी बढ्नुमा महासंघका निर्वतमान अध्यक्ष शाक्यले यी ४ कारक मान्छन् ।
१) अमेरिका र इरानबीच सुरु भएको भू–राजनीतिक तनावले सुनको भाउ अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो ।

२) अमेरिका र चीनबीचको व्यापार युद्धको प्रभाव सुनमा परेको हो । अमेरिकाले चीनका विभिन्न कम्पनीलाई कालोसूचीमा राखेसँगै मोबाइल कम्पनी ह्वावेको व्यापारमा समेत ठूलो असर परेको छ ।

३) भारत र अमेरिकाबीच पछिल्लो समय भएको व्यापारिक तनावको असर पनि सुनको भाउमा परेको हो । अमेरिकाले भारतीय सामानमा कर बढाउने निर्णय र भारतले पनि अमेरिकी सामानमा कर बढाउने निर्णयको असर सुनमा परेको हो ।

४) आन्तरिक रुपमा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत बजेटले सुन आयातमा प्रतितोला १ हजार रुपैयाँले वृद्धि गरेसँगै त्यसको सुनको भाउ बढेको हो ।

शाक्यले अन्तर्राष्ट्रिय स्तरको तनाव केही समय अझै रहने भएकाले तत्काल सुनको भाउ घट्न सम्भावना नहरेको बताउँछन । केही समयपछि मात्रै सुनको भाउ स्थिर हुन सक्ने उनको आँकलन छ ।

त्यसैले अहिले सुनमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उत्तम हुने उनको सुझाव छ ।


क्लिकमान्डु