उद्घाटन भए पनि तातोपानी नाका सुचारु हुन सकेन, नाका प्रवेशमा समेत कडाइ



काठमाडौं । गत जेठ १५ गते औपचारिक रुपमा उद्घाटन गरिएको तातोपानी नाका त्यसयता भने सञ्चालन हुन सकेको छैन् ।

उद्योगमन्त्री मातृका यादव र चिनियाँतर्फबाट भन्सार निकायका उपप्रमुखले संयुक्त रुपमा नाकाको उद्घाटन गरेका थिए ।

भूकम्पले ध्वस्त बनाएको मितेरी पुल निर्माणपछि रातो कार्पेट बिछ्याएर ४ वटा मालबाहक कन्टेनर नेपाल भित्राइएको थियो । तर, त्यसयता नियमित सुचारु हुने भनिए पनि नाकाबाट अहिलेसम्म एउटा पनि कन्टेनर आएको छैन् ।

‘भोटेकोसी गाउँपालिका २ का अध्यक्ष दीपेन्द्र श्रेष्ठले भने, ‘जेठ १५ यता कन्टेनरहरु आएका छैनन्, व्यवसायिहरु सामान लिन भने गएका छन् ।’

पहिले जस्तो सर्वसाधरणका लागि उक्त नाकाबाट चीन प्रवेश गर्न सजिलो नभएको श्रेष्ठले जानकारी दिए । २०७२ साल बैशाख १२ गते गएको भूकम्पले ध्वस्त बनाएको नाकाबाट त्यसयता नेपाली प्रवेश गर्न पाएका थिएनन् ।

अहिले १५ जना कामदारलाई सामान लोड अनलोड गर्नका लागि मात्रै चीनले अनुमति दिएको छ । भने अन्य मानिसका लागि प्रवेश खुला गरिएको छैन् । पहिले सर्वसाधरणले सहजै रुपमा चीन प्रवेश गर्न पाउँथे ।

श्रेष्ठका अनुसार उक्त नाका उद्घाटन भएपछि २० वटा जति कन्टेनर सामान लिनका लागि चीन गएका छन तर हालसम्म आएका छैनन् । ती कन्टेनरहरु सामान लिएर नेपाल आउनका लागि अझै १० दिन लाग्ने अनुमान गरिएको छ ।

साथै नाका पहिले जस्तै नियमित रुपमा सूचारु हुनका लागि अझै केही समय कुर्नुपर्ने श्रेष्ठको बुझाइ छ ।

त्यस्तै, तातोपानीदेखि ६ किलोमिटर तल लार्चामा चीन सरकारले सुख्खा बन्दरगाहा निर्माण गरे पनि हालसम्म पनि नेपाल सरकारलाई हस्तान्तरण गरेको छैन् ।

भवन निर्माण भइसके पनि आन्तरिक पूर्वाधार तथा सञ्चार संयन्त्र जडान नभएका कारण हस्तान्तरण हुन पाएको छैन् ।

त्यस्तै, सोही नाका जोड्ने कोदारी राजमार्ग ममर्त सम्भारमा सडक विभागले ध्यान नदिएकाका कारण वर्षाको समयमा पहिरोले सडक अवरोध गर्ने सम्भावना पनि उत्तिकै छ ।


क्लिकमान्डु