बहसः सेयरमा महिला आरक्षण ठिक कि बेठिक ?



काठमाडौंं । अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्डको २७ औं वार्षिकोत्वसमा आयोजित कार्यक्रममा सेयर बजारमा महिलालाई आरक्षण दिने विषयले निकै चर्चा पाएको छ ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुँजीगत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको बताउँदै यसले बजारमा देखिएका अन्यौलहरु हटेको भन्दै अब सेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्ने बताए ।

महिलालाई सेयर बजारमा आरक्षण र लाभकर घटाउन अर्थमन्त्रीको प्रस्ताव

मन्त्रीले भने ‘हामीले घरजग्गा रजिष्ट्रेशनमा छुट दिएर हेर्यौ । त्यो कोशिस गर्दा छुटको अनुपात २५ प्रतिशत पुगेको छ । सहरी घरजग्गामा महिलाहरुको स्वामित्व ८ प्रतिशतबाट २८ प्रतिशत पुगेको छ ।’

सेयर बजारमा महिलाहरु स्वामित्व लगानी बढाउन के गर्नुपर्छ ? धितोपत्र बोर्डले अलिकति गृहकार्य गरोस । पुँजीगत लाभकर कम गर्ने पनि हुनसक्छ । यो वर्षमा मिलेन ।

अब विस्तारै जमिनको महत्व काम र वित्तीय उपकरणको महत्व बढी हुँदैजाँदाखेरी भोलिका दिनमा सेयर स्वामित्व बढाउन जरुरी छ । अहिले १० कित्ता सेयर आइपिओमा बाँड्ने कुरा छ । यसमा महिलालाई केही आरक्षण गर्न सकिने उनले बताए ।

सेयर किन्ने महिलालाई कर छुट दिऔं, बजारमा महिलाको स्वामित्व बढाऔं

मन्त्रीको उक्त भनाइपछि लगानीकर्ताका विज्ञ तथा सामान्य लगानीकर्ताहरु पनि निकै उत्साहित देखिएका छन् । यसले गर्दा महिला मात्र नभएर आगामी पुस्ता पनि यो क्षेत्रमा आउन उत्साह मिल्ने सेयर बजार विज्ञ अनलराज भट्टराईको बुझाइ छ ।

भट्टराई भन्छन, ‘व्यवसायिक जागरण ल्याउन महिलालाई माथि ल्याउनैपर्छ । महिलाई चुलो चौकोमा मात्र सीमित गर्नु हुँदैन, महिलालाई यो विषयमा जानकारी गरायो भने त्यो परिवारका बालबालिकाले पनि सेयर बजारको बारेमा बुझ्छन र आगामी दिनमा उनीहरुले पनि बजारमा प्रवेश गर्न सक्छन ।’

केही व्यक्तिले महिलालाई आरक्षण दिँदा उसको नाममा मात्रै बढी सेयर किनबेच हुने सम्भावना बढने र फाइदा लिनेहरुको जमात बढ्छ भनेर तर्क गरेपनि त्यसले दीर्घकालिन रुपमा पार्ने प्रभावलाई सँगै लैजानुपर्ने भट्टराईको तर्क छ ।

अहिले कर्मचारीको लागि, लगानी गर्ने संस्थाका कर्मचारीलगायतलाई दिएजस्तै गरी आरक्षण गरेर महिलालाई सहभागी गराउन सक्ने भट्टराईको भनाइ छ ।

उनले भने, ‘यसो भन्दैमा सबैलाई आरक्षण दिनैपर्छ भन्ने होइन, यसमा असीमित महिलाई ल्याउनुभन्दा विशेष व्यवस्था गर्न सकिन्छ, यसमा एक वर्षमा ५ वा १० लाखमा कर छुट पनि दिएर महिलालाई ल्याउन सकिन्छ ।’

यता सेयर लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरीले पनि मन्त्री खतिवडाको अभिव्यक्ति निकै स्वागतयोग्य भएको बताइन ।

यो माग लामो समयदेखि लगानीकर्ताहरुले उठाउँदै आएको अध्यक्ष चौधरीको भनाइ छ । यसले महिलामा जागरण बढाउने र सेयर बजारको बारेमा सिक्नलाई पनि धेरै नै महत्वपूर्ण हुने बताइन् । चौधरीका अनुसार आरक्षणका साथै यस बारेमा सबै महिलालाई जानकारी आवश्यक चाहिन्छ । उनी भन्छिन, ‘सेयर बजारको विषयमा सबै महिलाले जान्ने, जनचेतना फैलने खालको वाताबरण पनि अहिले आवश्यक छ ।’

यस्तै लगानीकर्ता सिर्जना सुवेदी पनि सेयर बजारमा महिलालगानीकर्ता भित्रन आवश्यक रहेको बताउँछिन । जति नै अध्ययन गरेपनि, अध्ययनशिल भएपनि अहिले धेरै नै महिला चुलो चौकोमा बस्न बाध्य छन र उनीहरुले सेयर बजारमा ल्याउनको लागि आरक्षण आवश्यक रहेको सुवेदीको भनाइ छ ।

शनिबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले साधारण सेयर (आईपीओ)मा आरक्षण दिने भनेका थिए । साधारण सेयरमा मात्र आरक्षण दिनुको कुनै तुक नहुने सुवेदीले बताइन । ‘छुट नै दिने हो भने पूँजीगत लाभकरमा दिनुपर्छ’ उनले भनिन्, ‘ लाभकर छुट दिने हो भने भने चाँही महिलालाई आकर्षण गर्न धेरै नै सहयोग पुग्ने छ ।’

यता अर्की सेयर लगानीकर्ता दुर्गा तिवारी भने आरक्षण दिने सवालमा उति सारो सकारात्मक भने छैनन् ।

तिवारीको बिचारमा महिला लगानीकर्तालाई आरक्षण भन्दा पनि सेयर बजार बारे जनचेतना आवश्यक छ । आरक्षणले केही समय राम्रो भएपनि दीर्घकालीन रुपमा यसले राम्रो प्रतिफल नदिने तिवारीको तर्क छ ।

‘महिला लगानीकर्तालाई त आरक्षण दिनु भन्दा पनि उनीहरुलाई बजारसम्म आउने वातावरण चाहिन्छ’ तिवारी भन्छिन, ‘अहिलेसम्म कति गृहिणी आएको छन् हेर्नुपर्छ, उनीहरु कसरी आएका छन, त्यो पनि हेर्नुपर्छ र आउनेवाला कस्ता छन त्यो पनि अध्ययन गर्नुपर्छ । महिलालाई ल्याउने नै हो भने आरक्षण होइन पहिला तालिम दिनुपर्छ ।’

अहिले बुक बिल्डिङको कुरा चलिरहेको समयमा साधारण सेयरमा आरक्षण दिनु, नदिनुको कुनै पनि अर्थ नहुने उनले बताइन ।

यतिबेला सबै निकायले लगानीकर्ताहरुलाई लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको तिवारीको बुझाइ छ ।

‘यतिबेला लगानी गर्ने वातावरण बनाउन आवश्यक छ । त्यसको लागि नीतिमा सुधार हुनेपर्यो त्यो भएको खण्डमा पुँजीगत लाभकरमा पनि आरक्षण दिनु नदिनुमा तात्विक अर्थ हुँदैन’ उनले भनिन् ।

नियमनकारी निकायले पछिल्लो समयमा राम्रो काम गरिरहेको र यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउनु पर्ने तिवारीको बुझाइ छ ।

सेयर बजारलाई अनुत्पादन क्षेत्र हो भनेर विवादमा तानिएका अर्थमन्त्री डा. खतिवडाले आगामी आवको बजेटमार्फत पुँजीगत लाभकरको दर व्यक्तिगत लगानीकर्ताको लागि ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेका छन् । यसअघि ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो ।

गत वर्षको बजेटमा सरकारले ५ प्रतिशतको पुँजीगत लाभकरलाई बढाएर ७.५ प्रतिशत पु¥याएको थियो । अहिले पुनः ५ प्रतिशत हुँदा लगानीकर्ता थप हर्षित बनेका छन् । यस्तै बजेटले गैरआवासीय नेपालीहरु (एनआरएन)लाई पुँजी बजारमा आउने बाटो खोलेको छ ।

बजेटमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको संस्थागत सुधार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृत रूपमा प्रकाशन गर्ने, सामूहिक लगानी कोष, सेयर अभौतीकरण र सीडीएससीलगायतको कार्य थप व्यवस्थित विषय बजेटमा रहेका छन् ।

निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान)सहितको विवरण नेप्से तथा सीडीएससी राफसाफ प्रणालीमा आबद्ध गराउने, सेयर कारोबारको पुँजीगत लाभकर गणना औसत लागत विधिबाट गरिनेजस्ता विषयलाई बजेटले समेटेको छ ।

यसले गर्दा मन्त्रीलाई लगानीकर्तामैत्री हेर्ने दृष्टिकोणमा फरक देखिएको छ । तर शनिबार धितोपत्र बोर्डको कार्यक्रममा महिलालाई आरक्षण दिने मन्त्रीको धारणामा लगानीकर्ताहरुको दुई खालको मत देखिएको छ ।


क्लिकमान्डु