एनसेलको फोरजी सेवा देशका १ हजार शहरमा पुग्यो, यसरी बनाउनुहोस फोरजी सिम



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम एनसेलले आफ्नो फोर जी (लङ टर्म इभोलुसन) सेवालाई १ हजारभन्दा बढी स्थानमा विस्तार गरेको छ । आइतबार एनसेलले ७ वटै प्रदेशका सबै शहर र शहरी क्षेत्रभन्दा बाहिरका ग्राहकहरुलाई समेत दु्रतगतीको मोबाइल ब्रोडब्याण्ड सेवाको विस्तार गरेको जानकारी दिएको छ ।

‘ग्राहकहरुलाई दु्रतगतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न, शहरीक्षेत्र भन्दा बाहिरका स्थानहरु समेत समेट्दै सफलतापूर्वक फोर जी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रुपमा विस्तार गर्ने कार्य भइरहेको छ’ एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने ।

‘एनसेलको फोर जी नेटवर्कले सरकारद्वारा बजेटमा घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने कुरामा हामी विश्वस्त छौं र यो ब्रोडव्याण्ड पूर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीति अनुरुप छ’ उनले भने ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको लाभ लिन सक्नेछन् ।

फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरुआदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्ने एनसेलले जानकारी दिएको छ ।

दुई वर्ष अघि जेठ १८ गतेबाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो । यो सेवामध्ये पुस २०७५ सम्म देशका विभिन्न २१ शहरहरुमा सीमित थियो । अब यो सेवा बिराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ्ग, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र घनकुटा लगायत अन्य धेरै शहरहरु सहित १ हजारभन्दा बढी स्थानहरुमा उपलब्ध छ ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई मात्र रु १ शुल्क तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्ने एनसेलले जानकारी दिएको छ । ग्राहकले सिम लिदा आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गर्नु पर्दछ ।

यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ७ दिनका लागि मान्य हुनेछ र यो दिनको समय अर्थात बिहान ५ बजेबाट साँझ ५ बजेको समयमा प्रयोग गर्न सकिनेछ ।

एनसेलले फोरजी÷एलटिई देशको विभिन्न भागमा विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरुप सेवा संचालनमा ल्याएको दुई वर्षभित्रमा ४४ जिल्लामा यो सेवा विस्तार गरेको छ । फोरजी सेवामा पहुँच थप बढाउनुका साथै ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याउन कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।


क्लिकमान्डु