विदेशबाट फर्कदा ल्याउने सुनको भन्सार शुल्क बढ्यो, अब कति पर्छ ?



काठमाडौं । विदेशमा काम गर्ने नेपालीले सरकारले तोकेको परिणाममा भित्राउन पाउने सुनको भन्सार शुल्क बढेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेटसँगै ल्याएको आर्थिक विधेयकमा भन्सार मूल्यांकन बढाएका हुन् ।

आर्थिक विधेयक अनुसार अबदेखि पहिलो ५० ग्रामसम्मको सुन आयात गर्दा प्रति १० ग्रामको दरले ६ हजार २ सय रुपैयाँ तिनुपर्छ ।

पहिला पहिलो ५० ग्रामसम्म सुन ल्याउदा प्रति १० ग्राम ५२ सय रुपैयाँ भन्सार शुल्क तिनुपर्ने व्यवस्था थियो ।

सरकारले प्रति १० ग्राममा १ हजार रुपैयाँको दरले भन्सार महशुल बढाएको छ ।

यस्तै ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्ममा ७ हजार २ सय रुपैयाँ प्रति १० ग्रामको दरले भन्सार शुल्क लाग्छ । पहिला यस्तो सुन ल्याउदा प्रति १० ग्राम ६२ सय रुपैयाँ लाग्ने गरेको थियो ।

सरकारले १०० ग्रामसम्म काचो सुन विदेशबाट ६ महिनाभन्दा बढी बसेका व्यक्तिलाई ल्याउन दिन्छ । पहिलाको व्यवस्था अनुसार १०० ग्राम सुन ल्याउदा ५० ग्रामको २६ हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्ने थियो भने बाँकी ५० ग्रामको ३१ हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्ने हुन्थ्यो । यसरी १०० ग्राम सुन ल्याउदा ५७ हजार रुपैयाँ भन्सार शुल्क लाग्ने गरेको थियो ।

अहिलेको व्यवस्था अनुसार १०० ग्राम काचो सुन ल्याउदा ५० ग्राममा ३१ हजार र बाँकी ५० ग्राममा ३६ हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्छ । यस्तो गर्दा ६७ हजार रुपैयाँ १०० ग्राम सुन ल्याउदा भन्सार शुल्क तिनुपर्छ ।

तर,५० ग्रामसम्मको सुनको गहनामा कुनैपनि भन्सार शुल्क लाग्दैन । १०० ग्राम सुनको गहना ल्याउदा बाँकी ५० ग्राममा १० प्रति १० ग्रामको दरले ७ हजार २ सय रुपैयाँ भन्सार शुल्क लाग्छ । सोभन्दा बढी सुन ल्याएमा सो परिणामभन्दा माथिको सुन जफत हुने व्यवस्था छ ।


क्लिकमान्डु