पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्- सरकार ढल्ने डरले सांसदलाई ६ करोड बाँडियो



काठमाडौं । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदलाई ६ करोड रुपैयाँ दिने निर्णयको विरोध गरेका छन् ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि बोल्दै गर्दै क्षेत्रीले सरकार ढल्ने डरले मात्रै वर्तमान विद्धान अर्थमन्त्रीले सांसदलाई उक्त रकम दिन बाध्य भएको टिप्पणी गरे ।

‘सांसदलाई बजेट दिने विषयमा धेरै विरोध भयो, तै पनि बजेट सडकबाट पारित हुँदैन, संसदबाट पारित गर्नका लागि तिनै सांसद चाहिन्छ’, उनले थपे ‘तिनै सांसदले उक्त बजेट नदिए पारित हुँदैन, बजेट पारित नभए सरकारले राजीनामा दिनुपर्छ, यत्रो दुइतिहाइ बहुमतको सरकारले राजीनामा दिनुभन्दा सांसदलाई पैसा दिने निर्णय गरेको हो ।’

बजेटको आकार खुम्चिएमा आफूलाई चित्त नबुझेको बताउँदै उनले वर्तमान बजेट कालिदासको क जस्तो खिइएको प्रतिक्रिया दिए । बजेटको आकार १६ खर्बको अनुमान गरिए पनि बजेटको आकार कममा उनले अनसुष्टि व्यक्त गरे ।

उनले भने, ‘अर्थमन्त्रीको खुट्टा समाजवादी भए पनि शिक्षा र संगतका कारणले बजेटको आकार सानो भयो ।’

बजेटमा लोकप्रिय कार्याक्रम समावेश भएको भन्दै क्षेत्रीले बजेट कार्यान्वयन नभएमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने समेत बताए ।

बजेट इमान्दारपूर्वक साउन १ गतेदेखि नै बजेट कार्यान्वयन सुरु गर्ने हो भने साढे ८ प्रतिशको आर्थिक वृद्धि सम्भव भएको समेत उनले बताए ।

क्षेत्रीले देशभित्र उत्पादन हुने सामानमा लाग्दै आएको कर घटाउनुपर्ने तर्क गरेका छन् ।

‘स्वदेशमा उत्पादन हुने सामानलाई प्रोत्साहन गर्दै कर कम गर्दै लैजानुपर्छ’ उनले थपे ।

क्षेत्रले विद्यालयमा खाजा कार्यक्रम ल्याउनु बजेटको सकारात्मक पक्ष भएको बताए ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले गरेको टिप्पणीप्रति आफ्नो समर्थन रहेको भन्दै उनले स्थानीय तहले गर्ने काम पनि केन्द्रबाटै गर्ने गरी बजेटमा कार्यक्रम आउनु राम्रो नभएको बताए ।

‘सरकारको नीति केन्द्रिकृत भयो, स्थानीय र प्रदेश तहलाई वास्ता गरिएन्,’ उनले भने ।

सेयर बजारमा बजेटले कुनै पनि असर नगर्ने बताउँदै क्षेत्रीले मौद्रिक नीतिमा के आउँछ त्यसले अर्थ राख्ने बताए ।

चालु आवको बजेटमा ६ महिना नपुग्दै कान समातेर १५ प्रतिशत घटाइएको र तेस्रो पटकसम्म बजेटको संशोधन गर्ने यो सरकारले आगामी आवका लागि ल्याएको बजेट कति कार्यान्वयन होला त्यसमा गम्भीर प्रश्न उठेको उनले बताए ।


क्लिकमान्डु