बजेटमा कर्मचारीको मागः पियनको तलब ३५ हजार र महिलाका लागि स्तनपान कक्ष बनाउ



काठमाडौं । निजामती कर्मचारीहरुले आफ्नो तलब र भत्ता बढाउन माग गरेका छन् । पियनको तलब बढाएर कम्तिमा ३५ हजार रुपैयाँ पुर्याउनु पर्ने निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले माग गरेको छ ।

युनियनले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको मागपत्रमा पियनको तलब कम्तीमा २ गुणाले र मुख्य सचिवको तलब ३ गुणाले बढाउन माग गरेका छन्।

निजामति कर्मचारी युनियनको १८ बुँदे निर्णयः बजेटमा तलव र भत्ता बढाउन दबाब दिइने

अहिले मुख्य सचिवको मासिक तलब ५५ हजार २ सय रुपैयाँ छ । तल्लो तहका कर्मचारीको औसत तलब १८ हजार ४ सय रुपैयाँ छ ।

त्यसैगरी, कर्मचारीहरुले वस्तुनिष्ठ र यथार्थपरक ढंगले बजारमूल्यको आधारमा कर्मचारीको तलब सुविधा समयसापेक्ष ढंगले बढाउनु पर्ने, माग गरेका छन् ।

त्यस्तै, परिवहन भत्ता, खाजा भत्ता, शैक्षिक भत्ता र घरबहाल भत्ताको व्यवस्था गर्नुपर्ने माग छ । सबै कार्यालयमा कार्यरत महिला कर्मचारीका लागि स्तनपान कक्ष निर्माण गर्नुपर्ने पनि कर्मचारीहरुको माग छ ।

राष्ट्र बैंकलगायतका सार्वजनिक संस्थानमा रहेको सेवा सुविधासमेतको आधारमा तलब निर्धारण गर्नुपर्ने, अन्य क्षेत्रका कर्मचारीको तलब सुविधा अलग गर्नुपर्ने माग छन् ।

स्वास्थ्य बीमा योजना र सावधिक जीवन बिमालाई बढाएर १० लाख पुर्याउनु पर्ने, सबै कार्यालयमा कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्नुपर्ने, वैज्ञानिक तलब सुविधा निर्धारण आयोग गठन गर्नुपर्ने कर्मचारीहरुको माग छ ।

राष्ट्रसेवक कर्मचारीको लगानीमा ५ सय मेगावाटको ‘राष्ट्रसेवक हाइड्रो’ निर्माणका लागि आयोजना छनोट गरी तत्काल डीपीआर तयार पार्न बजेटको व्यवस्था गर्नुपर्ने, सबै तहका कर्मचारी र निजका परिवारका लागि सहकारी सुपथ मूल्य पसल स्थापना गरी राष्ट्रसेवक रासन कार्डको व्यवस्था गरिनुपर्ने माग छन् ।

सबै तहका कर्मचारीलाई शैक्षिक, खाजा, शिशु स्याहार र पारवहन भत्ताको व्यवस्था गरिनुपर्ने पनि कर्मचारीको माग छ ।

कडा र असाध्य रोग लागेका निजामती कर्मचारी र निजका परिवारलाई निःशुल्क उपचारको प्रबन्ध गरिनुपर्ने उनीहरुको माग छ ।

निजामती कर्मचारीको मासिक तलबबाट १० प्रतिशत कर्मचारी सञ्चय कोष कट्टी गर्दै आएकोमा उक्त रकमलाई वृद्धि गरी २० प्रतिशत पु¥याउनुपर्ने कर्मचारी युनियनको माग छ ।


क्लिकमान्डु