नेपाल–भारत मैत्री धर्मशाला सञ्चालनको जिम्मेवारी होटल आनन्द म्यानेजमेन्टलाई



काठमाडौं । काठमाडौंको तिलगंगामा निर्माण भएको नेपाल–भारत मैत्री धर्मशाला सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पोखरास्थित होटल आनन्द म्यानेजमेन्ट प्रालिले पाएको छ । गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रूपमा उद्घाटन गरिएको यस धर्मशाला सञ्चालको जिम्मेवारी आनन्द म्यानेजमेन्ट प्रालिले खुला प्रतिस्पर्धाबाट पाएको हो ।

नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको निमित्त पशुपति क्षेत्र विकास कोषले खुला प्रतिस्पर्धाबाट बोलपत्र आह्वान गरेको थियो । बोलपत्रको प्राविधिक र आर्थिक मूल्यांकनमा होटल आनन्द म्यानेजमेन्टको प्रस्ताव उत्कृष्ट ठहरिएकाले १० वर्षका लागि लिजमा दिइएको कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

आनन्द म्यानेजमेन्टले कोषलाई वार्षिक १ करोड ५ लाख ४१ हजार ६ सय १८ रुपैयाँ बुझाउने शर्तमा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको छ । तिलगंगास्थित १९ रोपनी छेत्रफल जग्गामा निर्माण भएको यो आकर्षक भवनमा ८० कोठा छन् । परम्परागत नेपाली शैलीमा निर्माण भएको धर्मशालामा मल्लकालीन रातो इँटा ‘दचि अपा’को प्रयोग गरिएको कोषले जनाएको छ ।

नेपाल–भारत मैत्री धर्मशाला भवनका कोठाहरूलाई सुविधासम्पन्न होटलसरह स्तरोन्नति गर्ने होटल आनन्द म्यानेजमेन्टका सञ्चालक ओस्कार बतास बताउँछन् । उनका अनुसार बाहिरी संरचना मात्रै तयार भएको धर्मशालाका भित्रि कोठाहरूमा एट्याच बाथरुम, एसी, टिभीलगायतका सुविधा रहनेछन् । “हामीले यो पूर्ण तयारी गर्दै सञ्चालन गर्न कम्तीमा ७ करोड खर्च लाग्ने अनुमान गरेका छौं,” बतास भन्छन् ।

सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी प्रतिस्पर्धामक रूपमा हस्तान्तरण गर्न केही ढिला भए पनि धर्मशाला भवन हस्तान्तरण भइसकेकाले अब सञ्चालनमा कुनै द्विविधा नरहेको कोषका सदस्य–सचिव ढकालको भनाइ छ । “धर्मशाला सञ्चालन गर्दा हुने वार्षिक आम्दानीको कम्तीमा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाउनुपर्ने र शुद्ध शाकाहरी भोजनमात्र खुवाउन पाइने तथा मादक पदार्थ बिक्री तथा प्रयोग गर्न नपाइने अनिवार्य शर्तसहित हामीले उहाँहरूलाई जिम्मेवारी दिएका हौं,” ढकालले भने ।

धर्मशाला भवन सञ्चालनसँगै न्यूनतम १४४ जनाले रोजगारी पाउने जनाइएको छ । यस्तै, धर्मशालाको सेवा लिएबापत सेवाग्राहीले प्रतिरात ३५० रुपैयाँदेखि ३९९९ रुपैयाँसम्म शुल्क बुझाउनुपर्नेछ । सञ्चालक बतासका अनुसार करार अवधि समाप्तिसम्ममा कोषलाई होटल आनन्द म्यानेजमेन्टले भाडाबापत न्यूनतम २१ करोड रुपैयाँ भुक्तानी गर्नेछ भने आउँदो दसैंसम्ममा सञ्चालन गर्ने गरीे तयारी भइरहेको छ ।


क्लिकमान्डु