हकप्रदको हल्ला चलाएर ओरियन्टल (र्याडिसन) होटलको मूल्य बढाउने खेल, एकैदिन ६ %ले मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा आफ्नो स्वार्थ पुरा गर्न र नयाँ लगानीकर्तालाई फसाउन के–केसम्म गर्छन भन्ने थाहा पाउन ओरियन्टल होटलको सेयरलाई हेरे पुग्ने भएको छ ।
केही सेयर लगानीकर्ताहरुले होटलले चाँडै नै लगानीकर्तालाई हकप्रद सेयर दिन्छ भन्दै हल्ला चलाएर सेयर मूल्य बढाएका छन् । मंगलबार ओरियन्टल होटलको सेयर प्रति कित्ता ४० रुपैयाँले बढेर ६६३ रुपैयाँ पुगेको छ ।

होटलको शाखा उपत्यका बाहिर विस्तार गर्ने र त्यसका लागि बजेट आवश्यक पर्ने भएकोले हकप्रद सेयर जारी गर्ने चर्चा चलाइएको छ । होटल स्रोतका अनुसार अहिले बजारमा चलेको हल्ला जस्तो उपत्यका बाहिर जाने कुनै पनि योजना छैन । अझै एक–दुई वर्ष उपत्यका बाहिर जान नसक्ने भएकाले हकप्रदबाट पैसा उठाउनु आवश्यक नभएको होटल स्रोतको भनाई छ ।

स्रोत भन्छ, ‘अहिले हामी होटलको स्तरोन्नतीमा लागेका छौं, त्यसको लागि लोन लिने प्रकृया पनि सकिएको छ । पहिला एफपीओबाट पुँजी संकलन गरेर स्तरोन्नतीको काम गर्ने कि भनिएपनि एफपीओको प्राइसिङ लगायतका विभिन्न विषयले गर्दा हामीले लोन नै प्रभावकारी हुने भएकोले लोन लिइसकेका छौं, त्यसकारण हकप्रदको चर्चा केवल चर्चा मात्र हो, हकप्रदको विषयमा बोर्डमा पहिलो चरणको समेत छलफल भएको छैन ।’


क्लिकमान्डु