सँधै फस्ट हुने एनआइसी एशिया बैंक यो पटक किन भयो लास्ट ?



काठमाडौं । हरेक कुरामा पहिलो हुने लक्ष्यका साथ एनआइसी एशिया बैंक केही वर्षयता आक्रमक रुपमा प्रस्तुत भएको छ ।

आक्रमक शैलीका कारण पछिल्ला दुई वर्षमै एनआइसी एशियाले झन्डै दुई दशकमा गर्न नसकेको प्रगति पनि गरेको छ । यो बैंकको प्रगति देखेर नेपालको बिजनेश कम्युनिटी चकित परेको छ ।

नविल र इन्भेष्टमेन्ट बैंक पनि एनआइसी एशियाको प्रगति देखेर उजस्तै आक्रमक बन्ने योजना बनाउन थालेका छन् ।

केही समयअघि नविल बैंकका सीइओले सार्वजनिकरुपमै नविलको प्रतिस्पर्धी एनआइसी एशिया भएको बताए ।

विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

केहीदिन अघि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले आफ्ना कर्मचारीहरुलाई एनआइसी एशियाजस्तै आक्रमक हुन निर्देशन दिए ।

स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

यी दुई उदाहरणले नेपालको बैंकिङ क्षेत्रमा एनआइसी एशियाको फोबिया कतिसम्म छ भन्ने प्रष्ट हुन्छ ।

हरेक कुरामा नम्बर वान हुने लक्ष्यका साथ आक्रमक रुपमा प्रस्तुत भएको एनआइसी एशिया बैंक पछिल्ला वर्षहरुमा त्रैमासिक वित्तीय विवरण निकाल्न पनि नम्बर वान हुँदै आएको थियो ।

त्रैमास सकिएको हप्ता/दश दिन नवित्दै एनआइसी एशियाले अपरिस्कृत वित्तीय विवरण निकाल्थ्यो । तर, चालू आर्थिक वर्षको तेस्रो त्रैमास सकिएको ४ हप्ता वित्दा पनि एनआइसी एशिया बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २३ वटा वाणिज्य बैंकले ०७५ चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । एनआइसी एशिया, जनता, सेञ्चुरी बैंक, सिभिल र राष्ट्रिय वाणिज्य बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाले त्रैमास सकिएको एक महिना भित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने कानूनि व्यवस्था रहेको छ ।

बैंक स्रोतका अनुसार चैत मसान्तको वित्तीय विवरणमा एनआइसी एशिया बैंकको निक्षेप खासै बढ्न सकेको छैन । बैंकमा भएको रकम भुक्तानीका लागि निस्किएपछि फेरि बैंकमा नआउँदा यो बैंकको निक्षेप बढ्न नसकेको हो ।

‘यो क्वाटरमा मोटो रकम बाहिरियो तर त्यसलाई धान्नेगरी निक्षेप बढ्न सकेन,’ बैंक स्रोतले भन्यो, ‘अरु समयको जस्तो प्रगति नभएकाले यो पटक बैंक उच्च व्यवस्थापनले वित्तीय विवरण सार्वजनिक गर्न जाँगर नचलाएको हो ।’

पछिल्लो एक वर्षमा एनआइसी एशिया बैंकको ५५ अर्ब ३० करोड रुपैयाँ निक्षेप बढाएको थियो । जुन केही वाणिज्य कैंकको कूल निक्षेप जति हो ।

०७४ पुस मसान्तमा १ खर्ब २० अर्ब, ०७५ असार मसान्तमा १ खर्ब ५२ अर्ब, ०७५ असोज मसान्तमा १ खर्ब ६८ अर्ब र ०७५ पुस मसान्तमा १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । अर्थात् बैंकले औषतमा एक त्रैमासमा ११ अर्ब रुपैयाँभन्दा बढीले निक्षेप बढाएको थियो ।

‘यो क्वाटरमा पहिलेको जस्तो ग्रोथ छैन,’ स्रोतले भन्यो, ‘१-२ दिनमै सार्वजनिक हुन्छ ।’


क्लिकमान्डु