जेट एयरवेजको अन्तिम आशा इत्तिहाद, सेयर मूल्य ३ प्रतिशतले बढ्यो



मुम्बई । भारतीय निजी क्षेत्रको वायुसेवा कम्पनी जेट एयरवेजको अन्तिम उद्दारकर्ताको रुपमा युएईको इत्तिहात एयरवेज आएको छ ।

जेटमा इत्तिहादको करिब २५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कर्जा संकटको कारण एक महिनादेखि अर्को सूचना जारी नहुँदासम्म जेटले आफ्नो सम्पूर्ण उडान स्थगित गरेको छ ।

जेट एयरवेजलाई भारतको एसबिआई बैंकको नेतृत्वमा सहवित्तीयकरण अन्तर्गत ८० अर्ब भारतीय रुपैयाँ बैंकहरुले कर्जा दिएका थिए । जेटले विमानस्थल,होटल तथा कर्मचारीको गरेर करिब १ खर्ब भारतीय रुपैयाँ बुझाउन बाँकी रहेको छ ।
जेटलाई ऋण दिएको प्रमुख बैंक एसबिआई बैंकले जेट खरिदका लागि मे १० साँझ ६ बजेसम्मको समय तोकेको थियो ।

एसबिआई बैंकका अध्यक्ष रजनिश कुमारले पत्रकार सम्मेलनमा जेट खरिद गर्नको लागि दुईवटा प्रस्ताव आएको जानकारी दिए । उनले पत्रकार सम्मेलन कुन कम्पनीले जेट खरिद गर्न खोजेको हो त्यो भने खुलाएनन् ।

भारतको आर्थिक पत्रिका इकोनोमिस्स टाइम्सको अनलाइन संस्करणले स्रोतलाई उल्लेख गर्दै इत्तिहादले समय सकिन एक मिनेट अगाडि प्रस्ताव दर्ता गरेको उल्लेख गरेको छ ।

इत्तिहातले भारतीय साझेदारसँग सहकार्यमा जेटको व्यवस्थापन नियन्त्रणमा लिने प्रस्तावमा उल्लेख गरेको छ ।

एसबिआई अध्यक्ष रजनिश कुमारले दुईवटा प्रस्ताव आएको बताएपछि जेटको सेयर मूल्य अन्तिम समयमा ३ प्रतिशतले बढेको छ । मुम्बई स्टक एक्सचेन्जका अनुसार जेटको सेयर मूल्य १५१.८० भारुबाट १५७.८० भारतीय रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु