स्पाइसजेटका अध्यक्ष भन्छन्ः जेट एयरवेयज बचाउने क्षमता छैन, टिकटको मूल्य घट्दैन
नयाँ दिल्ली । भारतीय निजी क्षेत्रको कम्पनी जेट एयरवेयजले आर्थिक संकटको कारण अर्को सूचना जारी नहुँदासम्म आफ्नो उडान रद्द गरेको छ ।
यसको असर भारतदेखि अन्तराष्ट्रिय रुपमा नै परेको छ । नेपालबाट भारत तर्फ हवाईयात्रा महंगो भएको छ । यस्तै भारतको आन्तरिक तर्फको हवाई यात्रा समेत महंगो भएको छ ।
भारतको निजी क्षेत्रको हवाई कम्पनी स्पाइसजेटका अध्यक्ष अजय सिंहले जेट एयरवेयज बचाउने क्षमता नभएको बताएका छन् ।
भारतीय समाचार च्यानल इटी नाउलाई दिएको अन्तरवार्ताको क्रममा उनले जेटको उद्दारको लागि २५ हजार करोड भारतीय रुपैयाँ लाग्ने र त्यो गर्ने क्षमता नभएको बताए ।
जेटलाई तत्कालै संचालनमा ल्याउनको लागि ११ हजार करोड भारतीय रुपैयाँ लाग्ने बताए ।
उनले जेटको उडान रद्द भएपछि माग र आपूर्तिको कारण जहाजको टिकट महंगो भएको र तत्काल सस्तो नहुँने बताए ।
स्पाइसजेट समेत उडान थपेपनि माग नै अत्याधिक भएको हुँदा त्यसलाई पूर्ति गर्न नसक्ने भनाई उनको छ । उनले उडान बढेपछि हवाई जहाजको भाडा सस्तो हुँने टिप्पणी गरे ।